गितार सेसन
'कस्तो पात जस्तो कुरा गरेको!' कुनै कुरा चित्त नबुझे हामी यस्तै भनिरहेका हुन्छौं। कोही मान्छे मन नपरे हामी नाक खुम्च्याउँदै भन्छौं, 'कस्तो पातजस्तो मान्छे!'
यस्तो घोचपेचमा पातलाई जोड्ने अभ्यास शिवकुमार खत्रीलाई भने फिटिक्कै मन पर्दैन। किनभने पात नै उनको पहिचान हो।
भोजपुरका शिवले पातबाट गीतका धूनहरू निकालेर नाम र सम्मान पाएका छन्। पात बजाएरै उनी संसारका धेरै देश घुमिसकेका छन्।
संगीनी, हाक्पारे, लोक वा आधुनिक, उनी पातबाट जस्तोसुकै धून निकाल्न सक्छन्। नेपालीबाहेक विदेशी स्रोताहरूलाई समेत उनको पात बजाउने कलाले लठ्याएको छ। उनले 'झोला' लगायत केही नेपाली फिल्मका लागि समेत पात बजाएका छन्। नेपालदेखि युरोपका कयौं देशमा उनले 'सोलो पात सेसन' गरेका छन्।
'सेतोपाटी गितार सेसन'मा शिवले आफ्नो यही कला देखाए। मन छुने रमाइला र मन घोच्ने विरही भाकाहरू सुनाए।
पात बजाउँदै पातको महत्व बताउने क्रममा उनले भने, 'पात प्राकृतिक बाजा हो। यसको सांस्कृतिक महत्व पनि छ।'
पात बजाउन उनले बाल्यकालमै सिकेका हुन्। आफ्ना दाइ र काका मिलेर दुई फरक पात एउटै लयमा बजाएको देखेर उनी रोमाञ्चित हुन्थे। उनीहरूबाट प्रभावित भएर पात बजाउन सिकेर उनले गोठालो जाँदा, खेल्दा-घुम्दा पात बजाइरहन थाले।
त्यसबेला उनलाई दाइ र काकाले भनेका थिए रे, 'तैंले हामीलाई जितिस्।'
तर अरूलाई जितेर पुग्ने कहाँ हो उनलाई थाहा थिएन।
२०५५ सालतिर काठमाडौं आएका उनले एयरलाइन्स र ट्राभल एजेन्सीमा काम गरे। त्यतिबेलासम्म राम्ररी पात बजाउन जान्नु कुनै ठूलो कला हो भन्ने उनलाई लागेकै थिएन। तर एकदिन उनले पालुवा (कलिलो पात) तालिम कार्यक्रमको विज्ञापन देखे।
'लोकबाजा संग्रहालयमा हुने त्यो तालिममा सहभागी हुने रहर लाग्यो,' उनले भने, 'तर सिक्न भनेर गएको म त्यसपछि अरूलाई सिकाउन थालेँ।'
त्यहीँबाट उनी नाइट ब्यान्डका सदस्यहरूसँग सम्पर्कमा आए। नाइट नेपालका मौलिक तथा परम्परागत बाजाहरू प्रयोग गर्ने ब्यान्ड हो। पात बजाउने सीपले शिव नाइटसँग जोडिए।
विगत सात वर्षदेखि शिव उनी यही ब्यान्डसँग आबद्ध छन्। उनले नाइट ब्यान्डकै सदस्यका रूपमा विदेश यात्राहरू गरेका हुन्।
गाउँघरमा आफ्ना धेरै साथीसंगीले पात बजाएको देखेका उनलाई पात संगीत बाजा हो भन्ने लागेको थिएन।
'भोजपुर हुँदा पात साथीहरूसँग संवाद गर्ने माध्यम थियो। अहिले मोबाइलबाट कुरा गरेजस्तै हामी पातबाटै कुरा गर्थ्यौं,' उनले भने।
पातबाटै प्रेमीप्रेमिकाबीच कसरी संवाद हुन्थ्यो, शिवले बजाएरै सुनाए। ब्यान्डका लागि बजाउन थालेपछि भने उनी पातको स्केल र सुरमा ध्यान दिन थाले। उनले बजाउने शैलीमा अझ परिपक्वता आउन थाल्यो।
शिवका अनुसार साल, तिदुलगायतको पातबाट राम्रो धून निकाल्न सकिन्छ। पातलो पात राम्ररी बज्ने भएकाले उनी चिलाउनेको पात बजाउँछन्। काठमाडौंमा चिलाउनेको पात सबैतिर सहजै पाइँदैन। यसका लागि उनी दक्षिणकाली र पशुपति क्षेत्रका जंगल धाउँछन्।
एउटै पात केही पटक बजाउन मिले पनि त्यसलाई ओइलाउन र च्यातिन दिन नहुने उनले बताए। पात ओइलाउन नदिन उनी त्यसलाई फ्रिजमा राख्छन्। संगीत भ्रमणमा जर्मनी पुगेका बेला उनले पात राख्न भनेर सानो चिटिक्क परेको फ्रिज किनेका छन्। फ्रिज किनेपछि पात स्टक राख्न पहिलाभन्दा सजिलो भएको उनले बताए।
पछिल्लो समय संगीतमा पात बजाउने क्रम बढे पनि अझै सारंगी वा गितार जसरी संगीत बाजाको रूपमा यसलाई हेरिँदैन। त्यही भएर पातलाई नेपाली संगीतमा जति प्रयोग गर्न सकिने हो, प्रयोग गरिएको छैन। त्यसैले पात बजाएर मात्रै जीविकोपार्जन गर्ने अवस्था अझै बनिनसकेको उनले बताए।
'अरू बाजाभन्दा सस्तो, पैसै नपर्ने भनम्, भएकाले पनि यसलाई महत्व नदिइएको होला,' उनले भने, 'पात अरू बाजाजस्तै पैसा खर्चेर किन्नुपर्ने भएको भए यसको महत्व बढ्थ्यो कि?'
नेपालमा भन्दा बरू विदेशमा पात बजाएको सुनेर मान्छेहरू लाम लागेर सिक्न आएको कुराले आफूलाई उत्साहित बनाएको उनी बताउँछन्।
सजिलै पाइने पात बजाउन पनि गाह्रो नहुने शिव बताउँछन्। उनी लगातार एक-दुई घन्टा पात बजाउन सक्छन्।
'अलिअलि ओठ र घाँटी भने दुख्छ। जति अभ्यास गर्दै गयो उति सजिलो हुन्छ,' उनले भने।
पात बजाउनुका उनी अनेक फाइदा देख्छन्। पात सिक्न सजिलो त छ नै, यसलाई बजाउँदा पुर्खादेखिको चलन पनि बाँचिरहने उनको भनाइ छ।
प्रकृति, संस्कृति र दैनिक जीवनसँग जोडिएकोले संगीतमा पातको प्रयोग अझै धेरै हुनुपर्ने उनी जोड दिन्छन्।
'पातसँग हाम्रो मौलिक संस्कृति र शैली गाँसिएको छ। पातको प्रयोगले आफ्नोपन झल्काउँछ,' उनले भने, 'संगीतमा पातको प्रयोग भनेको स्वादिलो चटनीजस्तै हो। यसले गीत संगीतलाई अझै मिठो बनाउँछ।'
यो पनि हेर्नुस्ः डाक्टर कोजु गीत गाउने, छोरा गितार बजाउने