कोरोना कहरका बेला २५ जना बालबालिकाले अनलाइन संगीत महोत्सवको आयोजना गरेका छन्।
स्पाइनी ब्याबलर इभोलुसनको इन्टरनेट कला तथा शैक्षिक कार्यक्रमले आयोजना गरेको महोत्सवमा २ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाको प्रस्तुति थियो।
महोत्सवमा अमेरिका, नेदरल्यान्ड्स, स्विट्जरल्यान्डका दर्शक, स्रोताहरू सहभागी रहेको आयोजकले जनाएका छन्।
महोत्सवमा २३ महिनाकी जोयाले पियानो र मादल बजाएकी र ९ वर्षीय आरम्भ ढकालले बाँसुरी बजाएका पनि आयोजकले जनाएका छन्।
१० वर्षिया जून लिम्बूले महोत्सव सुन्न र हेर्न एकदमै मजा आएको बताउँदै ज्ञानवर्द्धक रहेको प्रतिक्रिया दिएकी थिइन्।
आयोजकले जारी गरेको विज्ञप्तिमा जूनका भनाइ उल्लेख गर्दै लेखिएको छ, 'गाउन, भिडिओ बनाउन र सबै जनासँग हेर्न एकदमै नौलो लाग्यो'
स्पाइनी ब्याबलर इभोलुसनले प्रत्येक महिना बालबालिकाका सामग्री प्रस्तुत गर्दै आएकाे छ। महामारीका बेला केटाकेटीकाे प्रतिभा उजागर गर्न यस किसिमकाे कार्यक्रम आयाेजना गरिएकाे र आगामी महोत्सव मानव सभ्यता र मानव प्रणालीबारे हुने आयोजक संस्थाले जनाएको छ।
साथै बालबालिकाले प्रस्तुत गरेका सांगीतिक झलक ३ वर्षसम्म स्पाइनी ब्याबलरको युट्युबमा हेर्न सकिने आयोजकले बताएको छ।