यतिबेला युट्युबको ट्रेन्डिङमा दक्षिण कोरियाली ब्यान्ड 'ब्ल्याकपिंक' र चर्चित अमेरिकी पप गायिका सेलेना गोमेजको सहकार्यमा तयार भएको गीत छ।
शुक्रबार सार्वजनिक 'आइसक्रिम' म्युजिक भिडिओ सोमबार युट्युब ट्रेन्डिङको स्थानमा छ। हालसम्म यसले करिब १३ करोड बढी भ्युज भइसकेको छ।
युट्युबको ट्रेन्डिङमा मात्र होइन, 'आइसक्रिम' ले भ्युजमा आफ्नै रेकर्ड तोडेको छ। कोरियाली पप संस्कृतिबारे लेख्ने एक वेबसाइट 'सोम्पी'का अनुसार यो भिडिओले तीन घन्टा कम समयमै आफ्नै पुरानो रेकर्ड तोडेको हो। यसअघि जुन महिनामा ब्ल्याकपिंकको 'हाउ यु लाइक ड्याट' ले प्रिमियर समयमा धेरै भ्युज पाएर नयाँ रेकर्ड बनाएको थियो।
सन् २०१९ मा यही ब्यान्डको 'डु-डु डु-डु' बोलको म्युजिक भिडिओले १ अर्ब भ्युज पाएसँगै अर्ब भ्युज पुगेको पहिलो कोरियाली म्युजिक भिडिओ बनेको थियो।
ब्ल्याकपिंक वाइजी मनोरञ्जनले बनाएको दक्षिण कोरियाली केटीहरूको ब्यान्ड हो। यसमा चार जना सदस्य (जिसू, जेनी, रोजी र लिसा) छन्।
ब्यान्डले सन् २०१६ अगस्टमा एल्बम 'स्क्वायर वान' सार्वजनिक गरेसँगै कोरियन म्युजिक क्षेत्रमा औपचारिक हिसाबले आफ्नो यात्रा सुरू गरेको हो।