केही समयअघि 'ढाका-धोती' बोलको र्यापले निकै चर्चा कमायो। युट्युब ट्रेन्डिङमा समेत पर्न सफल उक्त र्याप अवधी भाषामा तराई-मधेस पहिचान र सांस्कृतिक विविधतालाई सकारात्मक रूपमा प्रस्तुत गरेका थिए र्यापर सुरज क्षेत्री (भिओमा) र दीपक काहार (डि-वान)ले।
यिनै दुईको सहकार्यमा नयाँ र्याप गीत 'अत्ति भो' सार्वजनिक भएको छ। 'अत्ति भो' बोलको यो र्यापमा बलात्कार, तेजाब प्रहार लगायत महिलामाथि भइरहेको दमनलाई विषय बनाएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना पनि शब्दमा सामेल गरेको छ।
सुरज र दीपकले र्यापमार्फत देशको कमजोर कानुन प्रणालीमाथि औंला उठाएका छन्। 'अत्ति भो' मा सुरज र दीपक आफैंले शब्द दिएका हुन्। गीतमा नेपाली र अवधी दुवै भाषाको मिश्रण छ। यसको बिट भने 'प्रोफेस्सा बिट्स' बाट लिइएको छ।
भिडिओ सुरज र राजीव गहतराजको निर्देशनमा तयार भएको हो। यसलाई रोहित थापाले सम्पादन गरेका छन्।
याे र्याप शनिबार भिओमाको आधिकारिक युट्युब च्यानल 'भिओमा अफिसियल' मार्फत सार्वजनिक भएको हो।
भिडिओमा र्यापर सुरज र दीपक दुवैको प्रस्तुति देख्न सकिन्छ।
यो पनि पढ्नुस्ः ललीपप मात्र होइन, मधेसमा अब बज्छ हिपहप