पर्साकी सिमरन स्याङ्बोले 'मिस तामाङ-२०१८'को ताज जितेकी छन्।
नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमको आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न एघारौँ संस्करणको मिस तामाङको उपाधि जित्न सिमरनले २८ प्रतिस्पर्धीलाई पाखा लगाइन् ।
सिमरनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गरेकी थिइन् । उपाधिसँगै उनले एक लाख पुरस्कार हात पारिन् । नगद पुरस्कारसँगै उनलाई एक वर्षका लागि सिभिल ग्रुपको ब्राण्ड एमबास्डर नियूक्त भएकी छन्। यस्तै प्रतियोगितामा नुवाकोटकी रञ्जिता लामा फस्ट रनरअप भइन भने सेकेन्ड रनरअपको उपाधि भने काठमाडौंकी कुञ्छान लामाले जितिन। उनीहरूले क्रमश: 'भ्यूवर च्वाइस' तथा फोटो भ्यूवरको उपाधि पनि हात पारे।
ब्यूटिफुल स्माइलको उपाधि गिताञ्जली पाख्रिनले जित्दा बेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेष्ट पर्सनालिटी आशिका बल, बेष्ट फ्रेण्डसिप सिम्रन लामा, बेष्ट अनुशासन क्रिष्टिना लामा तथा बेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले प्राप्त गरे ।
‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङ जेनिशा मोक्तान हुनुभएको थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपालको गणतान्त्रिक संविधान लेखनमा विषेश भूमिका निर्वाह गरेको भन्दै १६ जना तामाङ सभासद् तथा सांसदलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राधिका तामाङ, यशोदाकुमारी लामा, रेशमबहादुर लामा, परशुराम तामाङ, दिलमान पाख्रिन, शेरबहादुर तामाङ, बहादुरसिंह लामा, तीर्थबहादुर लामा, कमला दोङ, बबिना मोक्तान, पुष्पलता लामा, रमेशकुमार लामा, इच्छाराज तामाङ, राजाराम स्याङतान, छेवाङतेन्जिङ लामा र योगेन्द्र घिसिङ रहेका छन् ।