इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ अब अंग्रेजी भाषाको फराकिलो पाठक घेरामा पुगेको छ। लेखिका मन्जुश्री थापाले अनुवाद गरेपछिको ‘देयर इज अ कार्निभल टुडे’ को शुक्रबार बेलुकी ललितपुर दरवार संग्रहालयमा कवि बैरागी काइँलाले बिमोचन गरेका छन्।
सन् १९५८ ताकै तयार भएको उक्त उपन्यासले दार्जिलिङको सेरोफेरोका भोगाइहरु समेटेको छ। यसका प्रमुख पात्र जनकमार्फत त्यतिबेलाका प्रवासी नेपाली समाजका कथा राईले प्रस्तुत गरेका थिए।
‘उपन्यास गैर नेपाली भाषी फराकिलो घेरामा पुग्नु जरुरी देखेर अनुवाद गरेकी हुँ,’ थापाले भनिन्, ‘यसमा दार्जिलिङ मात्र होइन नेपालका फरक भागहरुको समेत यात्रा गरेर पात्रले तत्कालीन समाज बुझ्न सजिलो बनाइदिएका छन्।’
विमोचनमा राइका समकालीन मित्र एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति काइँलाले उत्कृष्ठ नेपाली साहित्य विश्वभरिका पाठकको पहुँचमा पुग्नु महत्वपूर्ण कार्य भएको उल्लेख गरेका थिए।
‘राइमा भएको चेत र वर्णनशैली उत्कृष्ठ छ,’ नेपाली साहित्यमा तेश्रो आयामदेखि लीला लेखनसम्मका प्रयोगहरुमा राइसँगै सहयात्री रहेका काइँलाले भने, ‘अंग्रेजीका अन्तर्राष्ट्रिय पाठक घेरामा पहिचान बनाइसकेकी मन्जुश्री थापाले अनुवादका निम्ति यस पुस्तकको छनौट गरेकामा खुशी लागेको छ।’

कार्यक्रममा काइँलाले इलामको स्कुलमा पढ्दाताका भेटिएका हेडमास्टरदेखि लिएर पछि दार्जिलिङ पुगेपछि संगत सुरुहुँदा सम्मका राइसँग जोडिएका संस्मरणहरु सुनाएका थिए।
कार्यक्रममा लेखक विष्णु सापकोटाले लेखिका मन्जुश्रीसँग पुस्तक र यसले समेटेका विविध पक्षहरुका बारेमा साक्षात्कारसमेत गरेका थिए।
नयाँदिल्लीस्थित स्पिकिङ टाइगर पब्लिसिङले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय ६० रुपैयाँ राखिएको छ।