कवि विप्लव प्रतीक अब उपन्यासकार बनेका छन्। आफू जन्मे हुर्केको काठमाडौंलाई एउटा पात्रका माध्यमबाट उनले कथानकमा उभ्याएका छन्। पाठकहरुलाई पुरानो कालखण्डमा लगेर यस सहरको यात्रा गराउने उनको पहिलो उपन्यास ‘अविजित’को शनिबार राजधानीमा विमोचन गरिएको छ। प्राध्यापक केदारभक्त माथेमा, चिन्तक प्रदिप गिरि र कवि दुर्गालाल श्रेष्ठले कृति सार्वजनिक गरेका थिए।
‘विप्लवले कविताको अनुभूति आख्यानमा पनि गराएका छन्,’ कवि दुर्गालालले भने, ‘उनको लेखन सरल र सरस छ।’
दरबारमार्गको भब्य क्लब डेजाभूका रहस्यमयी प्रकाश व्यवस्थामा किताबको माहोल खोज्दै पुगेका पाठकहरुका निम्ति अर्का वक्ता थिए प्राध्यापक माथेमा।
‘काठमाडौंका पुराना दिनहरु यो उपन्यासमा यसरी उल्लेखित भएको छ कि बीपिको शवयात्रा हुँदा पात्रले मलाई त्यहाँ किन भेटेन भनेर खुल्दुली लगाइरहेको थियो,’ दुई दिनमै पुस्तक पढेको जानकारी दिँदै माथेमाले थपे, ‘पढुन्जेल एउटा आदर्शवादी पात्रका रोचक भोगाइहरु पाठकका छेउबाट गुज्रिरहन्छ।’
पुस्तकमा एक ठाउँ वालकहरुले शिकार गरेको ढुकुरलाई बाजले समातेर उडेको प्रसंग छ। अर्का वक्त्ता प्रदिप गिरिले भने यसलाई रोचक पाराले खण्डन गरे। हावामै शिकार गर्ने र कसैगरि शिकार भुइँमा झरेछ भने पनि नटिप्ने बाजको चरित्र प्रष्ट्याउँदै गिरिले लेखनमा यस किसिमका तथ्यहरु बिर्सनु नहुने औंल्याए।
‘यसका मुख्य पात्रको प्रथम प्रेम के हो भन्ने नै थाहा पाइँदैन,’ गिरिले भने, ‘तै पनि उ निरन्तर संघर्ष गर्छ र अरुहरुको निम्ति उसले गरेको लडाइँ २०४६ सालको घटनाक्रममा पुगेर टुंगिन्छ।’
यो उपन्यासमा कुनै गहिरो जीवन दर्शनभन्दा पनि एउटा कालखण्डमा बाँचेको एक पात्रले अपनाएको आदर्श पढ्न पाइने गिरिले जानकारी दिए।
कार्यक्रममा लेखक विप्लवका पुराना साथी एवं कलाकार सुनिल थापाले शुभकामना दिएका थिए भने अर्का अन्तरंग गायक दीप श्रेष्ठले विप्लव लिखित उनकै गीत ‘हर रात सपनीमा ऐँठन हुन्छ’ गाएर सुनाएका थिए।
बुकहिल पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ।