दुई वर्षअघि नेपाली राष्ट्रिय भलिबल टिमले पहिलो उपाधि जितेको थियो। ढाकामा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न थालेको २० वर्षमा नेपालले सो उपाधि जितेको थियो।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको दुई महिना बित्न नपाउँदै नेपाली महिला भलिबल टिमले अर्को सफलता हात पार्यो। नेपालमा आयोजना भएको १३औं सागमा नेपालले रजत पदक जितेको थियो।
सागमा नेपालले पहिलो पटक रजत जितेको थियो। स्वर्णको भिडन्तमा नेपालले दक्षिण एसियाको बलियो टिम भारतलाई कडा टक्कर दिएको थियो। अन्तिम सेटमा चुक्दा नेपालले सागमा ऐतिहासिक स्वर्ण जित्न भने चुकेको थियो।
त्यसपछि कोभिड-१९ कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेनन्। जसका कारण नेपाली महिला टिमको फर्ममा पनि ब्रेक लाग्यो।
दुई वर्षछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपालले आफ्नो फर्मलाई निरन्तरता दियो। मंगलबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन बन्यो।
उज्वेकिस्तानविरूद्धको फाइनल भिडन्त निकै रोमाञ्चक थियो। पाँच सेटसम्म लम्बिएको फाइनलमा नेपालले ३-२ को सनसनीपूर्ण जित निकाल्दै उपाधि रक्षा गर्न सफल भयो।
फाइनलमा नेपालका लागि ओपन स्पाइकर सरस्वती चौधरीले उत्कृष्ट खेल देखाउँदा नेपालले लगातार दोस्रो उपाधि जित्न सम्भव भयो। आयोजकले सरस्वतीलाई फाइनलमा उत्कृष्ट खेल देखाएको भन्दै नेपाली टिमकी ‘बेस्ट खेलाडी’ को अवार्डसमेत प्रदान गर्यो।
उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन
नेपाली टिमकी अग्ली खेलाडी सरस्वती पछिल्लो समय लगातार फर्ममा छिन्।
६ फिट २ इन्च अग्ली सरस्वतीले समूह चरणका ५ खेल र फाइलमा गरी ६ खेलमै नेपाली टिमको जितमा महत्वपूर्ण योगदान दिइन्।
२६ वर्षीय सरस्वती विगत १४ वर्षदेखि लगातार भलिबल खेलिरहेकी छिन्।
कैलालीको धनगढीमा जन्मिएकी उनको उचाइ सानै उमेरदेखि भलिबल खेल्न उपयुक्त थियो। १२ वर्षमै ५ फिट ७ इन्च अग्ली सरस्वतीलाई स्थानीय प्रशिक्षक विष्णु चौधरीले भलिबल खेल्न सुझाए। सरस्वतीलाई प्रशिक्षण दिनसके भविष्यमा राम्रो खेलाडी बन्ने विश्वास विष्णुको थियो।
प्रशिक्षक विष्णु र आमाको करले १५ दिन अभ्यास गरेपछि सरस्वती सुदूरपश्चिमको टिममा पर्दै 'गणतान्त्रिक राष्ट्रिय भलिबल' खेल्न १४ वर्षअघि काठमाडौं आएकी थिइन्।
१२ वर्षे सरस्वती टिममा सबभन्दा जुनियर थिइन्। त्यसैले खेल्न पाइनन्। खेल्न नपाए पनि उनले आफ्नो उचाइले अन्य प्रशिक्षकको ध्यान खिचिन्।
पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले पोखराको फिस्टेल स्कुलको छात्रवृत्तिमा पढ्ने र भलिबल सिकाउने प्रस्ताव राखे। निर्णय लिनसक्ने उमेर सरस्वतीको थिएन। घरको फोन नम्बर दिएर हिँडिन्।
सरस्वतीको घरको फोनको घन्टी बज्न थाल्यो, पोखराको फिस्टेल एकेडेमीको नम्बरबाट।
'आफ्नी छोरीको लागि राम्रो चाहनुहुन्छ भने पोखरा पठाउनुहोस्,' फोनबाट प्रस्ताव आउँथ्यो।
भर्खर १२ वर्ष लागेकी छोरीलाई टाढा पठाउन कुन आमाबुवाको मन हुन्छ होला र!
'यति सानी छे, त्यति टाढा एक्लै कसरी पठाउने !' सरस्वतीकी आमा चिन्ता गर्थिन्।
आमाबुवाले पठाउन मन नगरे पनि सरस्वती पोखरा जान उत्साहित थिइन्।
पढाइ राम्रो र छात्रवृत्ति भएकाले सरस्वतीलाई पठाउन उचित हुने आफन्तको सुझावपछि आमाबुवा अमिलो मनले तयार भए। सरस्वती हिँड्ने दिन आमाबुवा खुबै रोए। छोरी खुसी हुँदै पोखरा लागिन्।
नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथी, सबै एकै पटक झेल्नुपर्दा सरस्वतीको उत्साह सुरूमा निराशामा परिणत भयो।
कम बोल्ने सरस्वतीलाई त्यहाँको परिवेशमा भिज्न केही महिना लाग्यो। दिनचर्या फेरियो। बिहान उठ्नेबित्तिकै प्रशिक्षण, त्यसपछि स्कुल, स्कुलपछि फेरि प्रशिक्षण, अनि फेरि पढाइ।
अभ्यास क्रममा उनले आफूभन्दा सिनियर सिपोरा गुरुङ, सञ्जु पुर्जा, देवी खाणजस्ता चर्चित खेलाडीको संगत पाइन्।
सरस्वतीले फिस्टेलबाट खेलेको पहिलो प्रतियोगिता तीज अवसरमा पोखरा, लामाचौरमा भएको स्कुलस्तरीय प्रतियोगिता हो। अग्ली भएकाले उनी सुरूमै टिममा परिन्।
ब्लकपछि क्विक स्पाइक सिकेकी उनलाई अहिले पनि आफ्नो क्विक स्पाइक औधी राम्रो लाग्छ।
सरस्वती भलिबलमा प्रवेश गर्दाताका पोखरामा फिस्टेल र ज्ञानुबाबा स्कुलबीच कडा प्रतिस्पर्धा हुन्थ्यो। ज्ञानुबाबामा राष्ट्रियस्तरका खेलाडी थिए। उसले ढोरपाटन महिला डबल लिग उपाधिसमेत जित्यो। महिला भलिबलका पूर्वकप्तान मञ्जु गुरूङलगायत खेलाडी रहेका ज्ञानुबाबालाई जित्ने फिस्टेलको इच्छा पूरा हुन सकेन।
फिस्टेलबाट भलिबल खेलेको समय सरस्वतीलाई जीवनकै स्वर्णिम लाग्छ। त्यहाँबाट भलिबल करिअर सुरू भयो, राष्ट्रियस्तरमा समेत आफ्नो परिचय बनाइन्।
पाँच वर्षपछि उनले फिस्टेल छाडिन्।
त्यही बेला उनलाई सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टिममा भित्र्याउने प्रस्ताव राख्यो। त्यतिबेला उनी १७ वर्षकी थिइन्।
एपिएफमा उनी पहिलो रोजाइकी खेलाडी बनिन्। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। सरस्वती आवद्ध भएपछि एपिएफले पनि सफलता पाइरहेको छ। उपाधि जितेका प्रतियोगितामा सरस्वती नै उत्कृष्ट खेलाडी भइरहेकी छन्।
क्विक स्पाइक हान्ने सरस्वतीले एपिएफमा आफ्नो भूमिका परिवर्तन गरिन्, ओपन स्पाइक हान्छिन्।
क्लब करिअरमा सफल सरस्वती सन् २०१४ मा राष्ट्रिय टिममा प्रवेश गरिन्। नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसिपमा माल्दिभ्सविरूद्ध मैत्रीपूर्ण खेलमा उनले पहिलोपटक टिमको जर्सी लगाइन्।
दुई वर्षअघि बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको नेपालले भलिबलमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेको खेलमा सरस्वतीको प्रदर्शन उच्च थियो।
नेपालमा भएको १३औं सागमा पनि उनको प्रदर्शन तारिफयोग्य थियो। यसबीच उनले जापानमा एक महिने प्रशिक्षणको अवसर पाइन्। जापानको विश्वविद्यालयमा टिमबाट खेल्दा आत्मविश्वास बटुलेकी सरस्वतीले दुई महिना माल्दिभ्सको महिला लिग खेलिन्। अन्तर्राष्ट्रिय लिगको यो पहिलो अनुभव थियो।
भविष्यमा अवसर आए अरू देशका लिग खेल्ने उनको इच्छा छ।
१२ वर्षसम्म खेलकुदबाट पर भाग्ने सरस्वतीका लागि भलिबल अहिले नसा हो।
क्विक स्पाइक हान्न छाडिसकेकी सरस्वतीलाई ब्लक नछुवाएर चार नम्बर जोनमा सट प्रहार गर्दा आनन्द आउँछ।
सरस्वतीलाई आफ्नो उचाइकै कारण नाम पनि अग्लो भएजस्तो लाग्छ। केटाकेटी बेला भने स्कुलमा जिस्क्याउँदा नरमाइलो लाग्थ्यो।
'सबभन्दा अग्ली थिएँ, सबैले बाँस, लम्बू भन्थे। अहिले पनि कतिले 'यति अग्ली छेस्, तैंले त ब्वाइफ्रेन्ड पनि पाउँदिन होलिस्' भन्छन्,' उनी सुनाउँछिन्।
उचाइको कुरा घरमा पनि भइरहन्छ। घर पुग्नेबित्तिकै उनी फित्ता लिएर आफ्नो दाइभाइअघि पुग्छिन्। भाइ ६ फिट र दाइ ५ फिट ११ इन्च अग्ला। सबभन्दा अग्ली उनी भनिदिन्छन्, 'देख्यौ, केटीहरू उचाइमा पनि कम छैनन्।'
उचाइबाहेक उनलाई आफ्नो कुनै काममा सफलता नपाएसम्म लागिरहने बानी मनपर्छ। सायद यही बानीका कारण सरस्वतीको सफलताको ग्राफ उनको उचाइजस्तै अग्लो हुँदैछ।