१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबल फाइनलमा भारतसँग पराजित भएपछि नेपाली खेलाडी कोर्टमै भक्कानिए। पाँचौं सेटसम्म लम्बिएको खेल गुमाएपछि नेपाली खेलाडीका आँशु थामिएनन्। उनीहरूलाई सम्झाउन अधिकारीहरूलाई हम्मे पर्यो।
ऐतिहासिक जितनजिक पुगेर पराजित भएको क्षण नेपालकी ओपन स्पाइकर सरस्वती चौधरीले अझै बिर्सन सकेकी छैनन्। नेपाललाई फाइनलसम्म पुर्याउन उत्कृष्ट खेल देखाएकी ६ फिट १ इन्च अग्ली सरस्वतीलाई त्यो क्षण सम्झँदा अहिले पनि चुक-चुक लाग्छ।
'भारतविरूद्ध फाइनल खेल हरेक पल सम्झिरहेको छु,' २४ वर्षीया सरस्वतीले भनिन्, 'जितेको खेल पनि हारेजस्तो लागिरहन्छ।'
सागमा पहिलोपटक फाइनल पुगेको नेपालसँग स्वर्ण जितेर इतिहास रच्ने अवसर थियो। त्रिपुरेश्वरस्थित कबर्डहलमा भएको खेलको निर्णायक पाँचौं सेटमा अनपेक्षित रुपमा सर्भिस बिग्रिँदा नेपाल अंकमा पछि पर्यो।
पराजित भए पनि नेपाली खेलाडीको सबैले प्रशंसा गरेका थिए। सरस्वतीले भने अझै मन बुझाउन सकेकी छैनन्।
'हामीले अन्तिम सेटमा किन खेल बिगार्यौं जस्तो लागिरहन्छ,' उनले भनिन्, 'उपाधि जित्न सकेको भए सारा नेपाली खुसी हुन्थे।'
राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको परिचय बनाएकी सरस्वतीलाई ६ कक्षा पढ्दासम्म खेलकुदमा चासो थिएन। भलिबलबारे त सुनेकै थिइनन्।
कैलाली, धनगढीमा जन्मिएकी उनको उचाइ भने भलिबल खेल्न उपयुक्त थियो। १२ वर्षमै ५ फिट ७ इन्च अग्ली सरस्वतीलाई स्थानीय प्रशिक्षक विष्णु चौधरीले भलिबल खेल्न सुझाए। सरस्वतीलाई प्रशिक्षण दिनसके भविष्यमा राम्रो खेलाडी बन्ने विश्वास विष्णुको थियो।
'तिम्रो हाइट राम्रो छ। जिउ पनि खेलाडीकोजस्तै छ। अभ्यास गर्यौ भने राम्रो खेलाडी बन्छौ,' विष्णु सरस्वतीलाई उक्साउँथे। सरस्वतीलाई प्रभाव पर्थेन।
'मलाई खेलकुदमा रूचि नै छैन। म खेल्दिनँ,' सरस्वती जवाफ दिन्थिन्।
विष्णु हरेस खाने पक्षमा थिएनन्। सरस्वतीका आमाबुबासँग कुरा गरे। निकै करपछि सरस्वती तयार भइन्। तर सुरूआतकै अभ्यास झिँजो र दिक्कलाग्दो भयो।
'हात र ज्यान साह्रै दुख्यो। म सिक्दिनँ,' आमासँग सरस्वतीको गुनासो हुन्थ्यो।
'खेल्दै गएपछि सञ्चो हुन्छ, पछि यही खेलले तिमीलाई दह्रो बनाउँछ,' आमा फकाउँथिन्।
प्रशिक्षक विष्णु र आमाको करले १५ दिन अभ्यास गरेपछि सरस्वती सुदूरपश्चिमको टिममा पर्दै 'गणतान्त्रिक राष्ट्रिय भलिबल' खेल्न काठमाडौं आइन्।
१२ वर्षे सरस्वती टिममा सबभन्दा जुनियर थिइन्। त्यसैले खेल्न पाइनन्। खेल्न नपाए पनि उनले आफ्नो उचाइले अन्य प्रशिक्षकको ध्यान खिचिन्।
पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले पोखराको फिस्टेल स्कुलको छात्रवृत्तिमा पढ्ने र भलिबल सिकाउने प्रस्ताव राखे। निर्णय लिनसक्ने उमेर सरस्वतीको थिएन। घरको फोन नम्बर दिएर हिँडिन्।
सरस्वतीको घरको फोनको घन्टी बज्न थाल्यो, पोखराको फिस्टेल एकेडेमीको नम्बरबाट।
'आफ्नी छोरीको लागि राम्रो चाहनुहुन्छ भने पोखरा पठाउनुहोस्,' फोनबाट प्रस्ताव आउँथ्यो।
भर्खर १२ वर्ष लागेकी छोरीलाई टाढा पठाउन कुन आमाबुवाको मन हुन्छ होला र!
'यति सानी छे, त्यति टाढा एक्लै कसरी पठाउने !' सरस्वतीकी आमा चिन्ता गर्थिन्।
आमाबुवाले पठाउन मन नगरे पनि सरस्वती पोखरा जान उत्साहित थिइन्।
'पोखरा एकदमै राम्रो ठाउँ। मलाई त कहिले जाउँ जस्तो भएको थियो,' सरस्वतीले भनिन्।
पढाइ राम्रो र छात्रवृत्ति भएकाले सरस्वतीलाई पठाउन उचित हुने आफन्तको सुझावपछि आमाबुवा अमिलो मनले तयार भए। सरस्वती हिँड्ने दिन आमाबुवा खुबै रोए। छोरी खुसी हुँदै पोखरा लागिन्।
नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथी, सबै एकैपटक झेल्नुपर्दा सरस्वतीको उत्साह सुरूमा निराशामा परिणत भयो।
'घरको निकै याद आउँथ्यो। बाथरूम गएर खुब रुन्थेँ,' उनले भनिन्।
कम बोल्ने सरस्वतीलाई त्यहाँको परिवेशमा भिज्न केही महिना लाग्यो। दिनचर्या फेरियो। बिहान उठ्नेबित्तिकै प्रशिक्षण, त्यसपछि स्कुल, स्कुलपछि फेरि प्रशिक्षण, अनि फेरि पढाइ।
अभ्यास क्रममा उनले आफूभन्दा सिनियर सिपोरा गुरुङ, सञ्जु पुर्जा, देवी खाँडजस्ता चर्चित खेलाडीको संगत पाइन्।
'सिपोरा दिदीहरूको चर्चा देखेपछि भलिबलमै केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो,' उनले भनिन्, 'उहाँहरू जस्तै बन्ने इच्छा हुन्थ्यो।'
सरस्वतीले फिस्टेलबाट खेलेको पहिलो प्रतियोगिता तीज अवसरमा पोखरा, लामाचौरमा भएको स्कुलस्तरीय प्रतियोगिता हो। अग्ली भएकाले उनी सुरूमै टिममा परिन्।
'लम्बू भएकाले गुरुले मलाई सुरूमा ब्लकमा फोकस गर्नुभयो,' आफ्नो भलिबल करिअरको सुरूआती दिनबारे भनिन्, 'त्यसपछि विस्तारै स्पाइक हान्न सिकेँ।'
ब्लकपछि क्विक स्पाइक सिकेकी उनलाई अहिले पनि आफ्नो क्विक स्पाइक औधी राम्रो लाग्छ।
सरस्वती भलिबलमा प्रवेश गर्दाताका पोखरामा फिस्टेल र ज्ञानुबाबा स्कुलबीच कडा प्रतिस्पर्धा हुन्थ्यो। ज्ञानुबाबामा राष्ट्रियस्तरका खेलाडी थिए। उसले ढोरपाटन महिला डबल लिग उपाधि समेत जित्यो। महिला भलिबलका पूर्वकप्तान मञ्जु गुरुङ लगायत खेलाडी रहेका ज्ञानुबाबालाई जित्ने फिस्टेलको इच्छा पूरा हुन सकेन।
'ज्ञानुबाबालाई हराउन हामी निकै तयारी गर्थ्यौं, तर कहिल्यै सकेनौं,' सरस्वतीलाई अहिले पनि दिक्क लाग्छ।
फिस्टेलबाट भलिबल खेलेको समय सरस्वतीलाई जीवनकै स्वर्णिम लाग्छ। त्यहाँबाट भलिबल करिअर सुरू भयो, राष्ट्रियस्तरमा समेत आफ्नो परिचय बनाइन्।
पाँच वर्षपछि उनले फिस्टेल छाडिन्।
'सिपोरा दिदी घाइते हुनुभयो। सञ्जु दिदी विदेश जानुभयो। विभिन्न कारणले फिस्टेल टिममा २-३ जना मात्र बाँकी रह्यौं,' उनी भावुक भइन्, 'छुट्टै पहिचानको टिम बनिसकेको थियो, परिस्थितिले टिकिरहन सकेन। छाड्दा एकदमै नरमाइलो लागेको थियो।'
त्यही बेला उनलाई सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टिममा भित्र्याउने प्रस्ताव राख्यो।
'निरन्तर प्रशिक्षण हुने र भविष्य राम्रो हुने फिस्टेलका सरहरूकै सल्लाहमा एपिएफमा आवद्ध भएँ,' सरस्वतीले भनिन्, 'त्यो बेला १७ वर्षकी थिएँ।'
एपिएफमा उनी पहिलो रोजाइकी खेलाडी बनिन्। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। सरस्वती आवद्ध भएपछि एपिएफले पनि सफलता पाइरहेको छ। उपाधि जितेका प्रतियोगितामा सरस्वती नै उत्कृष्ट खेलाडी भइरहेकी छन्।
क्विक स्पाइक हान्ने सरस्वतीले एपिएफमा आफ्नो भूमिका परिवर्तन गरिन्, ओपन स्पाइक हान्छिन्।
क्लब करिअरमा सफल सरस्वती सन् २०१४ मा राष्ट्रिय टिममा प्रवेश गरिन्। नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसिपमा माल्दिभ्सविरूद्ध मैत्रीपूर्ण खेलमा उनले पहिलोपटक टिमको जर्सी लगाइन्।
राष्ट्रिय टिममा परेपछि सरस्वतीले हात पारेको ठूलो सफलता बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जित्नु हो। नेपालले भलिबलमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेको खेलमा सरस्वतीको प्रदर्शन उच्च थियो।
नेपालमा भएको १३औं सागमा पनि उनको प्रदर्शन तारिफयोग्य थियो। यसबीच उनले जापानमा एकमहिने प्रशिक्षणको अवसर पाइन्। जापानको विश्वविद्यालयमा टिमबाट खेल्दा आत्मविश्वास बटुलेकी सरस्वतीले गत महिना माल्दिभ्सको महिला लिग खेलिन्। अन्तर्राष्ट्रिय लिगको यो पहिलो अनुभव थियो।
भविष्यमा अवसर आए अरू देशका लिग खेल्ने उनको इच्छा छ।
१२ वर्षसम्म खेलकुदबाट पर भाग्ने सरस्वतीका लागि भलिबल अहिले नसा हो।
'भलिबलसँग यति नजिक छु, अब छाड्न सक्दिनँ,' उनले हाँस्दै भनिन्,'भलिबल मेरो पहिलो माया हो। कहिलेकाहीँ घाइते भएर खेल्न नसक्दा र त्यही बेला अरु टिमले अग्रता लियो भने आफैं गएर खेलौं जस्तो लाग्छ। कुनै कारणवश खेल्न नपाउँद केही छुटिरहेको महशुस हुन्छ। नरमाइलो लाग्छ।'
क्विक स्पाइक हान्न छाडिसकेकी सरस्वतीलाई ब्लक नछुवाएर चार नम्बर जोनमा सट प्रहार गर्दा आनन्द आउँछ रे।
'पहिलो कोर्टमै सर्ट दब्यो भने जोश बढ्छ, अर्कोपटक अझ मज्जाले हान्न मनलाग्छ,' उनले भनिन्।
सरस्वतीलाई आफ्नो उचाइकै कारण नाम पनि अग्लो भएजस्तो लाग्छ। केटाकेटी बेला भने स्कुलमा जिस्क्याउँदा नरमाइलो लाग्थ्यो रे।
'सबभन्दा अग्ली थिएँ, सबैले बाँस, लम्बू भन्थे। अहिले पनि कतिले 'यति अग्ली छेस्, तैंले त ब्वाइफ्रेन्ड पनि पाउँदिन होलिस्' भन्छन्,' उनी सुनाउँछिन्।
उचाइको कुरा घरमा पनि भइरहन्छ। घर पुग्नेबित्तिकै उनी फित्ता लिएर आफ्नो दाइभाइअघि पुग्छिन्। भाइ ६ फिट र दाइ ५ फिट ११ इन्च अग्ला। सबभन्दा अग्ली उनी भनिदिन्छन्, 'देख्यौ, केटीहरू उचाइमा पनि कम छैनन्।'
उचाइबाहेक उनलाई आफ्नो कुनै काममा सफलता नपाएसम्म लागिरहने बानी मनपर्छ रे। सायद यही बानीका कारण सरस्वतीको सफलताको ग्राफ उनको उचाइजस्तै अग्लो हुँदैछ।