कर्णाली प्रदेशमा पहिलोपट सञ्चालन गरिएको मुख्यमन्त्री रनिङ शिल्डअन्तर्गत भएको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि रुकुम पश्चिमले जितेको छ भने महिलातर्फ कालीकोटले जितेको छ।
आइतबार भएको अन्तिम चरणको खेलमा पुरुष समूहमा रुकुम पश्चिमले सल्यानलाई हराउँदै उपाधि हात पारेको हो।
समूह चरणमा रुकुमले सल्यानसँग भोगेको हारको बदला लिँदै उपाधि हात पारेको हो।
पहिलो खेलमा सल्यानलाई रुकुमले २८–२६, २५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै उपाधि हात पार्न सफल भयो।
पुरुषतर्फ सल्यान उपविजेता बन्यो भने घरेलु टोली सुर्खेत तेस्रो बनेको छ।
यस्तै महिलातर्फ रुकुम पश्चिमलाई हराउँदै कालीकोटले उपाधि हात परेको छ। महिलातर्फको उपविजेता रुकुम बनेको छ भने दैलेख तेस्रो बनेको छ।
प्रतियोगिताका विजेता समूहले एक/एक लाख, उपविजेता समूहले ७५/७५ हजार र तेस्रो समूहले ५०/५० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाएका छन्।
प्रतियोगितामा पुरुषतर्फ रुकुमका डायमण्ड खड्का र महिलातर्फ कालीकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बनेका छन्। उनीहरूलाई ३ हजार ७०० का दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ।
५५ लाख खर्च
मुख्यमन्त्री रनिङ शिल्डअन्तर्गत भलिबल प्रतियोगिता सञ्चालनमा करिब ५५ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। यसअघि ५० लाख रुपैयाँ खर्च लाग्ने मन्त्रालयको अनुमान थियो।
कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागिता रहेको प्रतियोगितामा खेलाडी तथा प्रशिक्षकहरूलाई आउने र जाने यातायात खर्च, दैनिक १ हजार रुपैयाँका दरले भत्ताको व्यवस्था गरिएको थियो। यसअघि खेलाडीहरूलाई प्रशिक्षण तथा पोशाकको व्यवस्थापनका लागि प्रत्येक जिल्लामा खेलकुद विकास समितिमा १/१ लाख रुपैयाँ पठाइएको थियो।