लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाइमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, लि निङको आधिकारित विक्रेता चाइना ट्रेड लिंक प्रा.लिका कार्यकारी अध्यक्ष राजन महर्जनले गोपीलाई विदाई गरेका थिए।
शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन्। नवौं धारा नेपालगन्ज म्याराथनका विजेताका बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए। नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो।
एनओसी अध्यक्ष श्रेष्ठले गोपीलाई सफलताको शुभकामना दिए। नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडका प्रबन्ध निर्देशक दुगडले गोपीलाई सफलताको शुभकामना दिदै आफ्ना उत्पादन खाद्य सामाग्री प्रदान गरेका थिए।
विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन्। यसअघि उनले बर्लिन म्याराथनमा पनि उनले भाग लिइसकेका छन्।
गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन्। उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन्।
सो अवसरमा लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरेको थियो। सो अवसरमा गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट दिइएको थियो।