खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स, स्नातक, स्नातकोत्तर र विद्यावारिधिका लागि सम्भाव्यताको खोजी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजाने उद्देश्यले सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।
हस्ताक्षर कार्यक्रममा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले भने, ‘खेलकुद शिक्षा क्षेत्रमा आज एउटा नवीन सुरूवातको साक्षी हुन पाउँदा निक्कै हर्षित छु।
मलाई विश्वास छ हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर रोप्ने खेल शिक्षाको बिउले कुनै दिन देशले गर्व गर्ने गरेर फल पक्कै दिनेछ।’
सम्झौतामा शैक्षिक संस्थाहरूमा खेलकुद सम्बद्ध परियोजनाहरूको विकास गर्ने, खेलकुद क्षेत्रमा अनुसन्धानको वृद्धि गर्ने, अन्य अवसरहरूको खोजी गर्ने लगायत समेटिएका छन्।