आगामी वैशाख २ गते चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सह-आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप को सहयोगमा यो प्रतियोगिता हुन लागेको हो।
यसपटक प्रतियोगितामा देशभरबाट ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ।
प्रतियोगिताका खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने तय गरिएको छ। प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष महिलामा समान ६-६ गरी कुल १२ स्पर्धामा खेल हुनेछ।
क्योरोगीकै जुनियर तर्फ पुरुष महिलामा समान १०-१० गरी २० स्पर्धामा भिडन्त हुने तय गरेका छौं। पुम्सेको व्यक्तिगत, समूहगत र जोडी सहित १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन्।
सबै क्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।
प्रतियोगिता आगामी अगस्ट २३ र २४ सम्म दक्षिण कोरियाको सिओलमा हुने १४औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को खेलाडी छनोटको आधार समेत हो।
समान ३-३ पुरुष र महिला गरी जम्मा ६ खेलाडी सिओलमा हुने उक्त प्रतियोगिताका लागी समेत छनोट गरिने छ। व्यक्तिगत पुम्सेबाट समान १-१ पुरुष महिला तथा गेरोगीको सिनियर स्पधाबाट समान २-२ पुरुष र महिला गरी चार खेलाडी छनोट गरिने छ।सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ।
समान २-२ पुरुष र महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।
छनोट हुने ६ खेलाडीले जनही ५०-५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन्। त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायक पनि जनही १०-१० हजार नगदबाट पुरस्कृत हुने छन्। यो प्रतियोगिता सञ्चालन गर्नका लागि ५० जना निर्णायक परिचालन गरिनेछ। यसै प्रतियोगितालाई लक्षित गरी पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा रेफ्री रिफ्रेसर कोर्स पनि सम्पन्न भैसकेको छ।