नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ।
प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन्।
उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए। यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका हुन्।
यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन्।
सय किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मन कुमार रोका मगर विजेता बने।
यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए।
५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने।
यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमश: ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन्।
यस्तै पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमश: ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए।
यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन्।
त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने। यस्तै ४ घण्टा ५७ मिनेट २९ सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस सम्पन्न गरेर एण्ड्रियु एलकक तेस्रो भएका छन्।
यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन्।
बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन्।
१० किलोमिटर रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए। यस्तै एक घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन्।
अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ। जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस भएको थियो।
नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए। जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने।
शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट सय माइलको रेस सुरू भएको थियो।
रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए। उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको थापाले बताए।
उनका अनुसार रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका थिए। जसअन्तर्गत एक सय किलोमिटरको रेस झुलेबाट, ५० किलोमिटरको रेस बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरू भएको थियो।
ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो।
शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिएको यस रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए।
शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी भएका थिए। जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ।
सहभागी धावकमध्ये यस्तै २ सय ८९ जना पुरुष र ३५ जना महिला धावक रहेका थिए। विभिन्न चरण मध्ये सय माइलको रेसमा ४ महिला सहित १८ धावक सहभागी थिए।