न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन्।
गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए।
सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू–१३ देखि १५ वर्षको ब्ल्याक बेल्ट स्पिड किकिङमा पदक जितेका थिए।
कुँवरले व्यक्तिगत रुपमा सक्षम र सम्राटलाई जनही १५ हजार रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा न्युजनका प्रशिक्षार्थीले पुम्से र नृत्य प्रस्तुत गरेका थिए । भैसिपाटी आवास क्षेत्रमा रहेको न्युजेनमा तेक्वान्दो, जुम्बा र नृत्यको प्रशिक्षण हुँदै आएको छ । अस्ट्रेलिया रहेका तेक्वान्दो प्रशिक्षक एवम् रेफ्री प्रविण थापाको पहलमा स्थापित न्युजेनमा हाल करिब ६० जना प्रशिक्षार्थी र ४ जना प्रशिक्षक छन् । न्युजेनले कुँवरलाई मायाको चिनो प्रदान गरेको थियो ।
कुँवरले भविष्यमा पनि आफु न्युजेनलाई सहयोग गर्ने वचन दिए । कुँवर निर्देशक रहेको एक्स्ट्राटेक ओभल प्रालिले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा १७ दरखसवामा क्रिकेट मैदान निर्माण गरिरहेको छ । यसै साता मैदानको पहिलो चरणको निमार्ण सम्पन्न भएको थियो । त्यस मैदानमा फागुनबाट क्रिकेट खेल्न सकिने बताइएको छ ।