नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
यसअघि श्रेष्ठ करिब ३ वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए। र्याफ्टिङमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ (अहिले नेपाल बक्सिङ महासंघ) को नेतृत्वमा थिए।
बक्सिङ संघमा श्रेष्ठ सदस्य, सह–महासचिव र महासचिव हुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारीमा थिए। श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पूर्व सह–महासचिव हुन्।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी तथा उपाध्यक्षद्वयमा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापा रहेका छन्।
सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाए। रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन भए।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए। साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी जम्मा ३२ प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ।