दक्षिण अफ्रिकाका पूर्व रग्बी खेलाडी हानेस स्ट्राइडमको कार दुर्घटनामा परी मृत्यु भएको छ।
आइतबार एम्पुमलांगा प्रदेशको इमलालेनीस्थित कोइला खानी क्षेत्रनजिकको सडकमा उनको कार मिनिबससँग ठोक्किएर दुर्घटना भएको थियो।
बिबिसीका अनुसार उक्त दुर्घटनामा ५८ वर्षीय स्ट्राइडमको मृत्यु भएको हो।
उनी दक्षिण अफ्रिकाको उत्कृष्ठ रग्बी खेलाडी थिए।
सन् १९९४ मा रंगभेदको अन्त्यपछि सन् १९९५ मा भएको रग्बी विश्वकपको उपाधि उनको टिम स्प्रिङबक्सले जितेको थियो।
जोहानेसबर्गमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई १५-१२ ले पराजित गर्दै स्प्रिङबक्सले उपाधि जितेको थियो।
स्प्रिङबक्स दक्षिण अफ्रिकाको राष्ट्रिय रग्बी टिम हो।
खेलबाट अलग भएपछि उनी राजधानी प्रिटोरियामा फार्मेसिस्ट भएर काम गरे। पछि उनी आफैंले फार्मेसी समेत चलाएको बिबिसीले उल्लेख गरेको छ।
सन् २०१४ मा कार लुट्ने उद्धेश्यले ६ जनाको समूहले उनीमाथि कुटपिट गरी चक्कु प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएयता उनी परिवारको रेखदेखमा रहँदै आएका थिए।
स्ट्राइडमको निधनप्रति उनको पूर्व क्लब द लायन र दक्षिण अफ्रिकाको रग्बी संघले दुःख व्यक्त गरेको छ।