चीनको हाङझाउनमा गत साता सम्पन्न १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई नगद पुरस्कारले सम्मानित गरिएको छ।
गुरुङलाई एसियाली खेलकुदमा नेपाली कराते टिमको म्यानेजर निवासगोपाल वैद्यले नगद २ लाख रुपैयाँको चेक सोमबार हस्तान्तरण गरेका हुन्।
वैद्यले पूर्वघोषित पुरस्कारअनुसार नगद पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सम्मान पत्र हस्तान्तरण गरेका थिए।
एरिका नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधामा रजत जित्ने दोस्री खेलाडी हुन्। यसअघि सन् १९९८ मा सविता राजभण्डारीले तेक्वान्दोबाट रजत जितेकी थिइन्। टिम स्पर्धामा भने सन् २०१८ मा प्याराग्लाइडिङबाट रजत पदक प्राप्त भएको थियो।
करातेबाट पहिलो रजत जितेकी एरिकाले सरकारबाट १९ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछिन्। उनलाई सरकारको पुरस्कार छिटै हस्तान्तरण गरिने सदस्यसचिव घिसिङले बताए।