१९ औं एसियाली खेलकुदको महिला कबड्डीमा बंगलादेशविरूद्ध विजयी भएपछि नेपाली टिमकी कप्तान मेनुकाकुमारी राजवंशीले कबड्डीलाई पनि फुटबल र क्रिकेटजस्तै महत्त्व दिन आग्रह गरेकी छन्।
हाङझाउस्थित जिआओसान गुआली स्पोर्ट्स सेन्टरमा बंगलादेशविरूद्ध जित हासिल गरेपछि पत्रकारहरूसँगको कुराकानीमा कप्तान राजवंशीले अन्य खेलजस्तै कबड्डीलाई पनि महत्त्व दिनुपर्ने बताएकी हुन्।
उनले कबड्डीका लागि छुट्टै हलको व्यवस्था गरिनुपर्ने पनि बताइन्।
‘क्रिकेट, फुटबल, भलिबल र बास्केटबल हेर्नुहुन्छ नि कबड्डीलाई पनि त्यसरी नै हेरिदिनुस्। कबड्डीकै लागि भनेर काठमाडौंमा एउटा हल बनाइनुपर्यो। जहाँ हामी जतिबेला पनि प्राक्टिस गर्न सकौं,’ उनले भनिन्।
उनले भारतको हरियाणामा एक महिना लामो प्रशिक्षणले पनि एसियाली खेलकुदमा राम्रो प्रदर्शन सम्भव भएको बताइन्।
‘हरियाणाको अत्यधिक गर्मीमा दिनरात मेहनत गर्यौं, ६/७ वटा मैत्रीपूर्ण खेल खेल्यौं,’ उनले भनिन्, ‘भारतबाट फर्केपछि हाम्रो हल भएन दुई-तीन दिन रंगशालामा प्राक्टिस गर्यौं।’
त्यही मेहनतका कारण आजको सफलतासम्म पुगिएको उनले बताइन्।
‘देशका लागि जसरी पनि मेडल जित्नुपर्छ भन्ने भावनाका साथ खेलेका थियौं। त्यसले पनि आत्मविश्वास बढायो,’ उनले भनिन्।
सोमबार नेपालले बंगलादेशविरूद्धको कबड्डीको १५ मिनेटको पहिलो हाफमा २१-१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेपछि नेपालले जित निकालेको थियो।
महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।
एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता छ। जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ।
नेपालको समूहको इरान बलियो टिम हो। अब नेपालले इरानसँग भोलि खेल्नेछ। सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ। त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नु पर्नेछ।
एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था छ। यसर्थ नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक जित्ने अवसर छ।