ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवहाक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रसंसा गरेका छन् ।
१९ औं एसियाली खेलकुदको उद्घाटन भएको ओलम्पिक स्पोर्ट्स सेन्टरमा बिहीबार पुस्तकका लेखक नवीन अर्यालसँग भेटघाट गर्ने क्रममा उनले एसियाली खेलकुदको नालीबेली समेटिएको पुस्तक विश्व खेलकुदका लागि पनि ‘माइलस्टोन’ हुने बताए।
उनले आफ्नो ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहको योगदान पुस्तकमा समेटिएकोमा लेखकलाई विशेष धन्यवाद दिए।
‘यो पुस्तक नेपाली खेलकुदका लागि मात्र होइन, अन्तर्राष्ट्रिय खेलकुदका लागि पनि खुराक हुन सक्छ,’ लेखकसँगको भेटमा उनले भने।
बिहीबार ओलम्पिक स्पोट्स सेन्टरमा ‘म्युजियम’ उद्घाटनको कार्यक्रम पनि थियो। यतिबेला चिनियाँ पत्रकारहरूको ठूलो उपस्थिति थियो।
लेखक अर्यालले एसियाली खेलकुदको इतिहास समेटिएको पुस्तक तयार पार्न आफूलाई २ वर्ष लागेको बताएका थिए। बरिष्ठ खेल पत्रकार अर्यालको पुस्तक असार २८ गते काठमाडौंमा सार्वजनिक भएको थियो। यो नेपालको अनुसन्धानात्मक खेलकुदको पहिलो पुस्तक हो।
पुस्तकमा आफ्नो ठूलो बुवाको हस्ताक्षरसहित सन् १९५१ को पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि सिंहले आयोजक चीनका पदाधिकारीलाई बोलाएर निम्तो देखाएका थिए। ‘यी हेर्नुस् मेरो ठूलो बुवाले पहिलो एसियाली खेलमा पठाएको निम्तो,’ उनले पुस्तक देखाउँदै भने।
यस अवसरमा ओसीएका मानार्थ उपाध्यक्ष वेइ जिझोङ, ओसीएका उपाध्यक्षद्धय सङ लुजेङ र ले. जर्नेल सैयद आरिफ हसन तथा इरानका एनओसी महासचिव सेयद मनाफ हासिमीको पनि उपस्थिति थियो । उनीहरुले पनि दस्तावेजलाइ्र्र चासोका साथ हेरेका थिए।
ओलम्पिक स्पोटर््स सेन्टरमा रहेको म्युजियममा दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलको थुप्रै दस्तावेज छैनन्। त्यसैले किताबमा रहेको दस्तावेज बहुमुल्य बन्न सक्नेतर्फ राजा रणधीर सिंहले इंकित गरे ।
‘म उल्था गराएर भए पनि यो किताब पढ्छु,’ उनले भने । भेटघाटमा उनले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष शरद चन्द्र शाहालाई याद गरे । यस्तै, नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म शमशेर राणासँग आत्मीय सम्बन्ध भएको बताए ।
पुस्तकमा आफ्नो ठूलो बुवा र बुवाको फोटो देखेपछि उनी उत्साही देखिएका थिए । राजा रणधीर सिंहको परिवार विगत ७ दशकदेखि ओलम्पिक मुभमेन्टमा सक्रिय छ । सन् १९८४ मा नेपालमा पहिलो साफ गेम्स आयोजना गर्न उनको बुवा भलिन्दर सिंहले विशेष योगदान गरेका थिए ।