हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ। उक्त दिन २ खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो।
जियोसन लिन्पु जिम्न्याजियममाको पुरूष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए।
महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन्। प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन्।
जुडोमा नेपालबाट समान ४–४ पुरूष/महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यसअघि पुरूषमा विकास विक, जंगबहादुर सारू र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए। महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो।
सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जिते। उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए।
तेक्वान्दो:
हाङझाव एसियाडको चौथो दिन मंगलबार ३ नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरे।
लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरूष ६३ केजीमुनि अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए। उनले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए।
प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्ड बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए।
यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन्।
महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन्। यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन्।