हाङझाउ एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले सोमबार निर्धारित दूरी तय गर्न असफल भएका छन्।
दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धा झेसौ स्पोर्ट्स सेन्टरको माउन्टेन बाइक कोर्षमा भएको थियो।
पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले बताए।
५ ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएइका १–१ खेलाडीले पनि दूरा पार गर्न सकेनन्। चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।
महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए।
४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन्। यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे इरानी खेलाडीले कास्य हात पारे ।
नेपालको चुनौती समाप्तसँगै नेपाली साइक्लिङ टोली मंगलबार स्वदेश फर्किदै छ।