१८ संस्करणको एसियाली खेलकुदमा नेपालको सबैभन्दा सफल खेल हो, तेक्वान्दो। नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट १ रजत र १३ कास्य गरी अहिलेसम्म १४ पदक भित्र्याएको छ।
तर पछिल्ला तीन संस्करणमा भने नेपालले तेक्वान्दोबाट खराब प्रदर्शन गर्दै आएको छ। नेपालले सन् २००६ को एसियाली खेलकुदपछि तेक्वान्दोबाट पदक भित्र्याउन सफल भएको छैन। २०१० को ग्वानझाउ एसियाड, २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता एसियाडमा नेपाल तेक्वान्दोबाट पदकबिहीन बन्न परेको थियो।
चीनको हाङझाउ एसियाडमा पनि नेपालको तेक्वान्दोले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। पदकको आशा गरिए पनि नेपाली खेलाडीहरू लगातार हार बेहोरिरहेका छन्। हाङझाउको लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा नेपालकी अञ्जली तामाङले सोमबार विहान भने केही आसा जगाएकी थिइन्।
महिला ४९ केजीमुनि उनले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएकी थिइन्।
पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोश्रो राउन्डमा भने उत्कृष्ट खेल देखाइन्। उनले १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। प्रिक्वाटरफाइनलमा भने अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुकिन्। अन्जली १२–० र १०–० ले पछि परिन् ।
सोमबार नै पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारेका थिए।
तेक्वान्दोको पहिलो दिन आइतबार एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए।