ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बने।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वल्र्ड कलेजलाई २१–१७ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा गोल्डेनगेटले जेभियरलाई १६–२ ले हरायो । दुवै समूहको विजेताले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गरे।
ब्वाइजमा ग्रिनफिल्डका सोनाम साङगु लामा तथा गल्र्समा गोल्डेनगेटकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ‘मोस्ट भेलुएबल प्लेयर’ ले लिनिङको गिफ्ट ह्याम्पर पाए।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दीपक गुरुङ, प्रतियोगिताको अफिसियल पार्टनर लिनिङका राजेन महर्जन र आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच पुरस्कृत गरे।
प्रायोजकमा प्राइम एजुकेसन, म्याग्निफिसियन्ट एजुकेसन एन्ड आईटी सर्भिस तथा एजुकेसन र माइग्रेसन कर्नर रहेका छन्।