अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा आइतबार स्वर्ण जितेका छन्।
४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन्। दुवै बूढानीलकण्ठ स्कुलका हुन्।
चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे। विजय बुढा मगर १६.५२ मिनेटमा दोश्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेश्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन्।
सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिन्। २२.३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोश्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी शभ्यता खड्का तेश्रो बने।
प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो। बूढानीलकण्ठले १९ अंक जोड्यो। विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन्। दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुंगिएको थियो।