दक्षिण कोरियाली राजदूतावासको आर्थिक सहयोगमा संचालन हुने एघारौं कोरियन एम्बासडर ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ मा भाग लिनबाट नेपाल तेक्वान्दो संघले बञ्चित गराएको खेलाडीहरुले गुनासो गरेका छन्।
राजधानीमा आज पत्रकार सम्मेलन आयोजना गर्दै खेलाडीहरुले नाम दर्ता गर्न औपचारिक पहल गर्दा बिभिन्न बाहानामा फर्काइएको बताएका हुन्।
साथै इमेलमार्फत तेक्वान्दो संघलाई जानकारी गराउँदा सुनुवाई नभएपछि खेलाडीहरुले बाध्य भएर पत्रकार सम्मेलन गर्न परेको बताए।
आफू आवद्ध डोजाङमार्फत नेपाल तेक्वान्दो संघले तोकेको विभिन्न शुल्क बुझाई नेपाल तेक्वान्दो संघले तोकेको मापदण्ड पूरा गरी तेक्वान्दो खेलमा आबद्ध भएका खेलाडी हुँदा पनि प्रतियोगिता भाग लिन नदिनु दुखद खेलाडी एलिस ठकुरीले बताए।
नेपाल तेक्वान्दो संघले खेलाडीको प्रतियोगिता खेल्न पाउने नैसगिंक अधिकारलाई न्यायोचित सम्बोधन नगरे न्यायिक लडाई लड्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन्।