नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन्।
विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन्। विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे।
१२३ केजीको कीर्तिमान विकासको नाममा थियो। उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए।
विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे। यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए। कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो। उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन्। श्रेष्ठसंगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे। सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन्। नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो।