नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन्।
ओलम्पिक काउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाट एक मात्र रेफ्रीको रुपमा अशोकको चयन भएको हो।
अशोक हाल दक्षिण कोरियामा रहेका छन्। दुई साताअघि विश्व र्याङकिङ जी-२ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु गएका थिए।
अशोक दक्षिण कोरियाबाट नै मंगोलियाको उलानबाटर प्रस्थान गर्नेछन्।
यो पनि :- १४ पटक अप्रेसन गरिएको खुट्टाले राष्ट्रिय खेलकुदमा स्वर्णदेखि विश्व च्याम्पियनसिपको निर्णायकसम्म
प्रतियोगिता अगष्ट १६ देखि २२ सम्म हुनेछ। प्रतियोगितामा पुरुष ५ र महिला ५ गरी १० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
अशोक २०१७ र २०१८ मा अस्ट्रेलियामा तथा २०१७ हङकङ भएको अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता खेलाडी समेत हुन्।