नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।
प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विशेष कार्यक्रमबीच उद्घाटन गरे । त्यस अवसरमा उनले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुर्नउत्थान हुने विश्वास पोखे । हक्की संघका कार्यवाहक अध्यक्ष अनिल शर्माको सभापतित्व भएको थियो ।