नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ।
प्रतियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको बताइएको छ।
यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो। स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो।
यस प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा प्रायोजक संस्थाबाट दुई लाख रुपियाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ।
पाँच विधा समावेश प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, ब्वाइज यु–१९, मास्टर खुल्ला पुरुष (५० तथा सो वर्षभन्दा माथि) र प्लेट च्याम्पियन्सिपमा प्रतिस्पर्धा हुनेछ । खेलहरु सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुनेछ।