दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न खोजेको कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषदका पदाधिकारीहरूले अवलोकन गरेका छन्।
कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना, संरचनाको अवस्था, आवास, लगानी, सरकारको तयारी जस्ता विषयमा देशका अन्य प्रदेश खेलकुद परिषदका सदस्य सचिवहरूले अवलोकन गरेका छन्।
दुई हप्तादेखि अवलोकनमा रहेका सदस्य सचिवहरूले कर्णाली राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम रहेको बताए।
कर्णालीको अहिलेको अवस्था हेर्दा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न कुनै समस्या नदेखिएको कोशी प्रदेश खेलकुद परिषदका सदस्य सचिव हंसराज वाग्लेले बताए।
‘राष्ट्रिय प्रतियोगिता गर्न त्यति सहज छैन, तै पनि हामीले दुई हप्ता यहाँ बसेर अवलोकन गर्दा तोकिएको भन्दा दुई महिना अगावै कर्णालीले प्रतियोगिता सञ्चालन गर्न सक्ने देख्यौं,’ उनले भने, ‘हामी अरू प्रदेशले पनि सहयोग गर्छौं, जसले कर्णालीमा प्रतियोगिता सञ्चालन गर्न सहज हुन्छ।’
वाग्लेले पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका क्रममा भएका कमीकमजोरी र राम्रा कामको समीक्षा गर्दै कर्णालीमा हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आफूहरू लाग्ने बताए।
उनले कर्णालीको यातायात सुविधा, हस्पिटालिटी जस्ता कुरालाई व्यवस्थित गरेर दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सहज बनाउन लाग्नुपर्नेमा जोड दिए।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दा राखेपले अभिभावकीय भूमिका मात्र खेलेर अरू व्यवस्थापनको जिम्मा प्रदेशलाई नै दिनुपर्ने उनले बताए।
अवलोकनका क्रममा कर्णाली प्रदेश दशौं राष्ट्रिय प्रतियोगिता गर्न धेरै हदसम्म सक्षम देखिएको बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए।
सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालाको निर्माण गति देशकै तुलनामा छिटो भएकाले पनि राष्ट्रिय प्रतियोगिता तोकिएको समयमै हुने पूर्ण सम्भावना देखिएको उनले बताए।
भण्डारीले अब कर्णाली प्रदेशलाई अरू प्रदेशले खेलाडी सक्षम बनाएर सहयोग गर्नुपर्नेमा जोड दिए।
‘कर्णालीले यति धेरै लगानी गरेर प्रतियोगिता आयोजना गर्दै गर्दा अरू प्रदेशले पनि खेलाडी तयार पारेर सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामी कर्णालीको तयारी हेरेर मात्र यसमा लागौंला भनेर सोचेका थियौं, यहाँको परिस्थिति हेरेपछि खेलाडीमा लगानी गरौं भन्ने निष्कर्षमा हामी पुगेका छौं।’
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले दशौं प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले गरेको तयारी उपलब्धीमूलक रहेको औंल्याए।
प्रतियोगिता सञ्चालन गर्न सक्षम भएको कर्णालीमा प्रतियोगिता सञ्चालनका क्रममा स्थानीय स्रोतसाधनको प्रयोग गर्नुपर्नेमा जोड दिए।
कर्णालीमा बन्दै गरेको रंगशालामा इनडोर खेलहरू सबै हुने भएकाले आउटडोर हुने खेलहरूका लागि तत्कालीन परिस्थितिमा निर्भर हुने सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपकबहादुर सिंहले बताए।
‘हामीले सुदूरपश्चिममा छैटौं खेलकुद प्रतियोगिता गर्दा बाँस ठड्याएर गर्नुपरेको थियो, त्यसको तुलनामा कर्णालीमा त धेरै सुविधा छन्, यसले राष्ट्रिय प्रतियोगिता गर्न कुनै समस्या छैन,’ उनले भने।
नवौं प्रतियोगिताबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा ग्रहण गरेको कर्णालीले २०८१ मंसिरमा प्रतियोगिता गर्ने तयारी गरेको छ। कर्णालीमा यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिता भएको छैन।
कर्णाली प्रदेशमा आयोजना गरिने प्रतियोगिता अन्तर्गतका खेलहरू सबै सुर्खेत केन्द्रित गर्ने तयारी गरिएको छ।
अरू जिल्लामा भौगोलिक अवस्था र अन्य पूर्वाधारका कारण खेलहरू सञ्चालन गर्न समस्या हुने निष्कर्ष निकालिएको छ।
माथिल्ला जिल्लाहरूमा आवासको उचित व्यवस्थापन नभएकाले पनि खेलहरू सुर्खेत केन्द्रित गर्नुपर्ने अवस्था आउन सक्ने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए।
‘विविध कारणले खेलकुदका सबै गतिविधिहरू सुर्खेत केन्द्रित गर्ने सल्लाह भएको छ, केही खेलहरू अर्को प्रदेशमा खेलाउने सम्भावना हुन सक्छ,’ उनले भने, ‘हामीले दशौं राष्ट्रिय खेलकुद सञ्चालन गर्नु भनेको कर्णालीको क्षमता देखाउनु हो, यसमा हामी सक्रिय भएर लाग्नुपर्नेछ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भन्दा दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केही खेलहरू कम खेलाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए। नवौं प्रतियोगितामा ३६ वटा खेल भएका थिए।