प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका खेलाडी निसिम थापाको सालिक स्थापना गरिने भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा थापाको निधन भएपछि सम्मानस्वरुप उनको पोखरा रङ्गशालाभित्र अर्धकदको सालिक राख्न लागिएको हो। सालिक राख्ने कार्यको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
थापाको सालिक रङ्गशालाको परिसरभित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाउन लागिएको हो । वरिपरि पार्कसमेत निर्माण गरिने निसिम फाउन्डेसनले जनाएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निसिमको ज्यान भएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले खेलका दौरान ज्यान गुमाउने खेलाडी थापाको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय सोही बेला नै गरेको थियो।
शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा निसिमलाई गुमाउनु पर्दा निकै दुःख लागेकोे बताए। उनले भने, “स्व निसिमको सम्मानका लागि राष्ट्रिय खेलकुद परिषद्को विशेष पहलमा सालिक राख्न लागिएको हो । खेलको माध्यमबाट योगदान पुर्याउने व्यक्तिको सालिक रङ्गशालामा निर्माण गरिँदा पछिल्लो पुस्तालाई सकारात्मक सन्देश जान्छ ।”
फाउन्डेसनको लागि विभिन्न सङ्घसंस्था, व्यक्तिले समेत आर्थिक सहयोग प्रदान गरिरहेका छन् । नेपाली सेनाले रु १० लाख सहयोग गरेको स्व निसिमकी आमा सावित्री थापाले बताइन्। शिलान्यास कार्यक्रममा निसिमका बुवा प्रकाश थापा, हजुरआमा शोभादेवी मोक्तान, परिवारका सदस्य, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मण योगी, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।