जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्जेन्डर गादेगाद शाहले बुधबार राष्ट्रिय कीर्तिमान बनाएका छन्।
सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डरले निर्धारित दूरी ५२:९४ सेकेन्डमा पूरा गरे। यसअघि यो कीर्तिमान ५२.९६ सेकेन्डको थियो।
गौरिकाले ५० मिटर ब्याकस्ट्रोक नयाँ राष्ट्रिय रेकर्ड बनाइन्। उनले निर्धारित दूरी ३१:४४ मा पूरा गरिन्। यसअघि यो रेकर्डको समय ३१:८७ सेकेन्डको थियो।
दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण विजेता गौरिकाले सय मिटर ब्याकस्ट्रोक पनि राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गरेकी थिइन्। उनको यसअघिको समय १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो।
प्रतियोगितामा २०० मिटर फ्रिस्टायलमा नासिर हुसनले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। नासिरले भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।
विश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै विश्व एक्वाटिक्सको नामाकरण गरेको छ।