नासिर याह्या हुसेनले जापानको फुकुओकामा भइरहेको २० औं संस्करणको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले दिएको जानकारीअनुसार आज भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। नासिरले उक्त कीर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए।
नासिरले हिजो भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।
आजै भएको महिलातर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण विजेता गौरिका सिंहले राष्ट्रिय कीर्तिमान* कायम गरिन्। उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पुरा गरिन् ।
उनको यसअघिको समय १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो उनले उक्त रेकर्ड गोहावटीमा आयोजना भएको १२औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिइन्।
भोलि डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन्। बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै विश्व एक्वाटिक्सको नामाकरण गरेको छ ।
*सच्चाइएको