एसियन एथलेटिक्स एशोसिएसनको परिषद सदस्यमा नेपालका राजीवविक्रम शाह निर्वाचित भएका छन्।
थाइल्याण्डमा भएको २५ औं अधिवेशनमा सदस्यतर्फ सबैभन्दा बढी मत ल्याएर उनी निर्वाचित भएका हुन्।
८ जना परिषद सदस्यका लागि निर्वाचनमा १५ जना उम्मेदवार रहेकोमा उनले १४ जनालाई पछि उनी पहिलो भएका थिए।
उनले ४४ देश सहभागितामा भएको ३४ मत प्राप्त गरेका छन्। ३ मत बदर भएको छ ।
युएई, हङकङ, फिलिपिन्स, लेबनन, भियतनाम, कोरिया, लगायत देशका उम्मेदवारलाई पछि पारेको उनको भनाइ छ।
‘एसियाली एथलेटिक्सको परिषदमा निर्वाचित हुनु खुसीको कुरा त छदैछ। यस संगठनमा भोलि म रहुला नरहुला तर यसबाट नेपाल एथलेटिक्सलाई नयाँ उचाईमा पुर्याउन मद्दत मिल्ने छ। यो हामी नेपालीले गौरव गर्ने कुरा हो। विदेशमा भाग लिने अर्थात् सहभागी हुन जाने जति पनि खेल हुन वा प्रशासनिक कार्यमा प्रतिस्पर्धा भएको छ नेपालीले जितेर आएको इतिहास बनेको नै छ। त्यसैले अबसर पाएको खण्डमा नेपालीहरु अरु देश भन्दा केहीमा कमि छैनन् भन्ने मेरो बुझाइ छ,’ उनको भनाइ छ।
यसअघि गत असार पहिलो साता राष्ट्रिय खेलकुद परिषदले एथलेटिक्स संघको तदर्थ समिति गठन गरेको थियो।
अध्यक्ष राजीव बिक्रम शाहको संयोजकत्वमा गठन गरिएको समितिलाई राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार नयाँ विधान बनाएर तीन महिनाभित्र निर्वाचन गर्न समितिलाई निर्देशन दिएको थियो।