कर्णाली प्रदेश गौरवको आयोजनाका रूपमा निर्माणाधीन ‘कर्णाली रंगशाला’ को निर्माण कार्य ६० प्रतिशत सकिएको छ।
२०७८ मंसिर २० गते शिलान्यास गरिएको रंगशालाको भौतिक प्रगति ६० प्रतिशत पुगेको हो। आयोजनाको वित्तीय प्रगति भने ४६ प्रतिशत भएको छ।
कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार (भ्याटसहित) बजेटमा ठेक्का भएको आयोजना निर्माणका क्रममा असार २३ गतेसम्म ६५ करोड ८५ लाख रुपैयाँ खर्च भइसकेको कर्णाली प्रदेश खेलकुद परिषदले जनाएको छ। बहुवर्षीय यो आयोजना पूरा गर्ने सम्झौता भने २०८१ वैशाख ११ गतेसम्मको छ।
परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालका अनुसार रंगशालाको प्यारापिटमा ४ हजार कुर्सी जडान गरिसकिएको छ।
सुरूमा १० हजार दर्शक अट्ने गरी स्टिमेट गरिए पनि रंगशालाको भौतिक संरचना निर्माण गर्दै जाँदा १० हजार ५ जना दर्शक अट्ने प्यारापिट बनेको छ। भिआइपी तर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो संरचनामा छाना हालेर अन्तिम रूप दिन बाँकी छ। कभर्ड हलको छानाबाहेकको फिनिसिङ सकिएको उनले बताए।
तर स्वीमिङ पुल, व्यावसायिक सटर, प्रवेशद्वारको काम केही बाँकी रहेको सदस्य सचिव सञ्ज्यालले बताए।
उनका अनुसार यस्तै फुटबल मैदानमा दुबो लगाएर स्तरवृद्धि गर्ने काम भइरहेको छ भने एथ्लेटिक्स ट्र्याकको सव बेस र नाली निर्माणको काम सकिएको छ। रंगशाला परिसरमा हरियालीका लागि रूख रोप्ने काम पनि भइरहेको छ।
निर्माणाधीन प्रदेश रंगशाला हालसम्मको कर्णालीको सबैभन्दा ठूलो खेलकुद संरचना हो। यसअघि सुर्खेत रंगशालाका रूपमा रहेको खेल मैदानलाई अब स्तरोन्नति गरेर प्रदेश रंगशाला बनाउन लागिएको हो।
२०८१ मा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने योजनालाई समेत मध्यनजर गरेर यो आयोजनाको निर्माण गतिलाई तीव्र पारिएको छ।
कामको गति सोचेजस्तो भएकाले सम्झौता मिति अगावै रंगशाला निर्माण कार्य सकिने अपेक्षा प्रदेश खेलकुद परिषदको छ।
‘मुख्य काम सकिइसक्यो, छानो बनाउने, सटर बनाउने, ट्र्याक बनाउने जस्ता कामहरू बाँकी छन्, समग्रमा संरचनाहरूलाई अन्तिम रूप दिन बाँकी छ,’ परिषदका सदस्य सचिव सञ्ज्यालले भने, ‘अहिलेसम्मको काम हेर्ने हो भने तोकिएको समयभन्दा अगाडि नै सकिएला भन्ने आशा छ।’
यो प्रदेश गौरवको आयोजनाको लागत बढ्ने सम्भावना न्यून छ।
‘लागत बढ्ने सम्भावना छैन, सामान्य रूपमा भयो भने अन्तिममा थाहा होला,’ उनले भने।
आयोजना निर्माणको काम नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित ‘एमएसीजीएसएल जोइन्ट भेन्चर’ कम्पनीले गरिरहेको छ। उक्त जोइन्ट भेन्चर र प्रदेश सरकारसँग २०७८ कात्तिक २७ ठेक्का सम्झौता भएको थियो।
राष्ट्रिय खेलकुद परिषदबाट कर्णाली रंगशालाको परामर्शदाता रहेका दीलिप गसीका अनुसार भिआइपी, भिभिआइपी, मिडिया रूम भएको विशेष सुविधासहितको भवन निर्माणको काम अन्तिम चरणमा छ।
रंगशालाभित्र निर्माण भएका ठूला संरचनाको फिनिसिङ र साना संरचनाको आधा काम बाँकी रहेको उनले बताए।
‘फिनिसिङ बाहेकका सबै संरचना निर्माण भइसकेको हो, सार्वजनिक शौचालय, स्वीमिङ पुल, खेल मैदान, इरिगेशन सिस्टम, दर्शकदीर्घा बनिसकेका छन्,’ उनले भने, ‘पूर्व र दक्षिणतर्फ बनाउनुपर्ने अब ४२ वटा सटरहरू, बाहिरको पहुँचमार्ग बाँकी छ, आठ लेनको एथ्लेटिक्स ट्र्याक बनाउने काम केही बाँकी छ।’
उनका अनुसार रंगशालाको भिआइपी प्यारापिटमुनि ‘अन्डरग्राउण्ड पार्किङ’ बनाइएको छ। सम्झौता मितिभन्दा अघि नै आयोजनालाई पूर्णता दिनेगरी परिषदबाट जोडबल गरिरहेको गसीले बताए।
बीचमा कुनै बाधा नआएमा तोकिएको समयभन्दा अगावै निर्माण सकिने उनले बताए।
उनका अनुसार कर्णाली रंगशालाको फुटबल मैदान ‘ए’ वर्गको बनेको छ। जसमा विश्वकप समेत खेल्न सकिन्छ। १४ वटा खेल खेल्न मिल्नेगरी बनाएको रंगशालामा २२ वटासम्म खेल खेलाउन मिल्छ।
कर्णालीमा अहिले बनिरहेको रंगशालामा हुने केही सुविधा पोखरामा पनि नभएको परामर्शदाता गसीले बताए।
‘अहिलेसम्म पोखराको रंगशालालाई नेपालको दोस्रो मानिएको थियो, अब कर्णाली रंगशाला दोस्रो बन्छ, यहाँ रंगशाला बनिसकेपछि हुने सुविधाहरू पोखरा संगशालामा छैनन्,’ उनले भने।
प्रदेश रंगशाला भित्रको बहुउद्देश्यीय कभर्ड हलमा भलिबलसहित बास्केट बल, ब्याडमिन्टन लगायतका खेल खेल्न मिल्छ। उक्त कभर्ड हल नेपालको सबैभन्दा ठूलो रहेको उनले दाबी गरे।
यसबाहेक रंगशालामा कर्णालीको मौलिकता झल्काउने संरचना पनि छन्। मुख्य प्रवेशद्वारमा दैलेखको पञ्चदेवल समेटिएको छ। सटरको माथि हिँड्ने बाटोमा चाइना ग्रेटवालको डिजाइन गरिनेछ। यसलाई ‘कर्णाली वाल’ नाम दिइने उनले बताए।
नौ बिघा क्षेत्रफलमा बनेको कर्णाली रंगशाला दर्शकदीर्घा ‘कर्णाली स्टेडियम’ अक्षरमा देखिनेगरी डिजाइन गरिएको छ।
केन्द्रको बेवास्ता, प्रदेशको लगानी
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने योजना प्रदेश सरकारको छ। २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बेला दसौं प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएको छ।
कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा हस्तान्तरण समेत गरिसकिएको छ। कर्णाली प्रदेश सरकारले भने नवौं प्रतियोगिता हुनुअघि नै दसौं प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरिसकेको थियो।
राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरे पनि कर्णालीका खेल पूर्वाधारमा लगानी गर्ने कुरामा केन्द्र सरकारले उपेक्षा गरेको छ। केन्द्रले उपेक्षा गरे पनि प्रदेशले भने सक्दो लगानी गरिरहेको छ।
‘दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने भन्ने, तर कर्णालीलाई लागनी गर्न बजेट नदिने गरेपछि त राज्यले उपेक्षा गरेको बुझ्नुपर्यो, कर्णालीले मात्र यसमा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्नु नै उपेक्षा गरेको हो,’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव सञ्ज्याल भन्छन्, ‘नवौं राष्ट्रिय खेलकुदसम्म आइपुग्दा अरू प्रदेशहरूमा संघीय सरकारले हरेक कुरामा सहयोग गरेको छ, कर्णालीमा मात्र पूर्वाधार निर्माण गर्नका लागि बजेट विनियोजन गर्न संघीय सरकारले चाहेन।’
कर्णालीका खेल पूर्वाधारमा लगानी गरिदिन आफूहरूले बारम्बार संघीय सरकारका सबै संयन्त्रसँग कुरा उठाए पनि सम्बोधन नभएको उनले गुनासो गरे।
संघमा प्रतिनिधित्व गर्ने कर्णालीका सबै सांसदहरूलाई पनि संसदमा यो विषयमा कुरा उठान गर्न आग्रह गरे पनि एक जनाले मात्र सम्बोधन गरेको उनले बताए।
‘संघीय सरकारले उपेक्षा गरे पनि यसमा प्रदेश सरकारले आफ्नो सामर्थ्यले सकेसम्म लगानी गरिरहेको छ, प्रदेशका अरू पनि थुप्रै आवश्यकता पूरा गर्न लगानी प्रदेश सरकारले गर्नुपरेकोले यो क्षेत्रमा आवश्यक हुने जति बजेट भने पुगेको छैन,’ सञ्ज्यालले भने।
प्रदेश सरकारले रंगशालाबाहेक जिल्लाका खेल पूर्वाधारहरूमा पनि उत्तिकै लगानी गरेको छ।
चालु आर्थिक वर्षमा जुम्लाको राजा सिम खेलमैदान स्तरोन्नति गर्न ५० लाख खर्च गरिएको सञ्ज्यालले बताए।
यस्तै रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पातीहाल्नमा क्रिकेट मैदान निर्माणका लागि ९४ लाख १७ हजार खर्च गरिएको छ।
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीका तथा व्यवस्थापनका लागि २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो।
पोखरामा भएको प्रतियोगितामा ५०४ जना खेलाडी कर्णालीबाट सहभागी थिए। ३० वटा खेल खेलेको कर्णालीले दुई वटा स्वर्ण, ४ रजत र १२ कास्य पदक प्राप्त गरेको थियो।
यो वर्षको वैशाखमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि कर्णालीबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण तथा व्यवस्थापनमा ७० लाख प्रदेश सरकारले खर्च गरेको सदस्य सचिव सञ्ज्यालले बताए।
उक्त प्रतियोगितामा कर्णालीले पाँचौं स्थान हासिल गरेको थियो।
खेलाडीहरूलाई प्रोत्साहन तथा पुरस्कारमा मात्र चालु आर्थिक वर्षमा २७ लाख ५५ हजार रुपैयाँ खर्च गरिएको छ।
आउँदो आर्थिक वर्ष ०८०/८१ मा पनि विभिन्न जिल्लामा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
बहुवर्षीय आयोजना प्रदेश रंगशाला निर्माणमा आगामी आर्थिक वर्षका लागि ८५ करोड रुपैयाँ विनियोजन गरिएको सञ्ज्यालले बताए।
यस्तै, हुम्लामा हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालीकोटमा कभर्ड हल निर्माणका लागि ६० लाख, दशौं राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेलमैदान मर्मत तथा सुधारका लागि २ करोड, सुर्खेतको चिसापानी खेल मैदान निर्माणका लागि २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख कालिञ्चोक खेलमैदान निर्माणका लागि २५ लाख, रूकुम पश्चिमको चौरजहारी क्रिकेट मैदान निर्माणका लागि ६० लाख, जिल्लास्तरीय खेलमैदान निर्माणका लागि २ करोड, जाजरकोटको कुदुस्थित रंगशाला निर्माणका लागि १५ लाख रुपैयाँ आगामी आर्थिक वर्षको बजेटबाट विनियोजन गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि ७० लाख, प्रदेशस्तरी टिम तयारी तथा प्रशिक्षणको लागि ४ करोड ७० लाख, जिल्ला र प्रदेशस्तरमा मुख्यमन्त्री कप सञ्चालन गर्न १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको सदस्य सचिव सञ्ज्यालले जानाकारी दिए।
केन्द्र सरकारले कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारमा लगानी गर्न उपेक्षा गर्दा प्रदेशलाई खेलाडीमा गर्नुपर्ने लगानीमा कमी भएको सञ्ज्यालको गुनासो छ।
‘हामीले आफ्नो टिम पनि तयार गर्नुछ, केन्द्र सरकारले पूर्वाधारमा लगानी नगर्दा हामीले खेलाडीमा गर्नुपर्ने लगानी ओझेलमा परेको छ,’ उनले भने, ‘संघले पूर्वाधारम लगानी गरेको भए हामीले प्रदेशबाट खेलाडी तयार गर्न लगानी गर्न पाउँथ्यौं।’
कर्णालीमा आयोजना गर्ने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ देखि ९ सम्म तोकिएको छ।