राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे।
कार्यक्रम उपत्यकाका ३ सहित २१ जिल्लामा सञ्चालन गरिने छ।
काठमाडौं, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुंगा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ।
कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्।
प्रशिक्षार्थीहरुलाई नेपाल केआईएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम दिने छन्। फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ।
राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरुले मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिने छन्। कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ।