राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गरेकी छिन्।
नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग मंगलबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा पनि गरिन्।
राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याडमिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा समेत दिइन्।
कार्यक्रममा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याडमिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धी बारे जानकारी गराए। उनले देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याडमिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताए।
राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताइन्।
कार्यक्रममा राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एकेडेमीकी अध्यक्ष रिता विष्टलगायत पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए।
नेपालमा वि. सं. २००४ सालदेखि ब्याडमिन्टन खेल्न थालिए पनि संघको विधिवत स्थापना भने २००८ सालमा भएको थियो। हरेक वर्ष जुलाई ५ तारिखलाई विश्व ब्याडमिन्टन दिवसको रुपमा मनाइन्छ। विश्व ब्याडमिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याडमिन्टन दिवस मनाइएको ब्याडमिन्टन संघले जनाएको छ।