युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का पदाधिकारीहरूबीच भेटवार्ता भएको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मन्त्री अथक र आइसिसीका पदाधिकारीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आइसिसीले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
‘आइसिसीले नेपाली क्रिकेटको विकासमा खेलेको भूमिका प्रशंसनीय छ, आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं’, मन्त्री अथकले भने।
उनले नेपालमा क्रिकेटप्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै सम्भावना समेत बढेको उल्लेख गरे।
विगतभन्दा नेपाली खेलाडीहरूको अवस्था सुध्रिएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडी र खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताए।
आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिबन्ध फुकुवा गरेकोमा मन्त्री अथकले खुसी समेत व्यक्त गरे।
भेटवार्तामा बोल्दै आइसिसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा क्रिकेटको धेरै ठूलो सम्भावना रहेको बताए।
आफूले विगतदेखि नै नेपाली क्रिकेट क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै क्वाजाले पछिल्लो समय सरकारी संयन्त्रबाट समेत क्रिकेटको विकासका लागि प्रयासहरू भइरहेको भन्दै खुसी व्यक्त गरे।
उनले नेपाली क्रिकेटको विकासका लागि ठूला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।