नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा गौरिकालाई एनओसी उत्कृष्ट महिला खेलाडी र प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको हो।
त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ गल्फका दीपक मगर र महिलातर्फ तेक्वान्दोकी सङ्गीना वैद्यले प्राप्त गरे।
उत्कृष्ट संघको अवार्ड भने नेपाल तेक्वान्दो संघ प्राप्त गरेको छ।
त्यसैगरी एनओसीले चार जना खेलकुद पत्रकारलाई पनि सम्मान गरेको छ। कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे भने बिबिसीका खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरे।
यसैगरी कान्तिपुर टेलिभिजनकी सविना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरे भने राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गरे।
उत्कृष्ट सबैले सम्मान पत्र, ट्रफी र नगद ५० हजार रुपैयाँ प्राप्त गरे।
यस्तै राखेपका पूर्व सदस्यसचिव स्वर्गीय शरदचन्द्र शाह,ओलम्पिक कमिटिका पूर्व अध्यक्ष स्वर्गीय रुक्म शम्शेर राणा, एनओसीका सल्लाहकार लोकभक्त राणा, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष ध्रुबबहादुर प्रधान, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग) कीर्तिमानी खेलाडी वैकुण्ठ मानन्धर, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम थापा, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, पहिलो महिला ब्ल्याक बेल्ट पाएकी सुधासेन मल्ल र महिला राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट सम्मानित भए।