युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा रसिया भ्रणमा गएको नेपाली टोली स्वदेश फर्किएको छ।
नेपाल बक्सिङ संघका पदाधिकारीसहितको ८ सदस्यीय नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो।
बक्सिङ महासंघ रसिया र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचको निमन्त्रणामा नेपाली टोली रसिया गएको थियो।
स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री गहतराजले भ्रमण उपलब्धिमूलक भएको बताए।
रसियाको खेलकुद मन्त्रालयले सन् २०२२-२३ को आफ्नो कार्ययोजनामा नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने विभिन्न विषयलाई समावेश गरिएको मन्त्री गहतराजको भनाइ छ।
जसमा नेपाली खेलाडीलाई रसियामा तालिम दिने व्यवस्था मिलाउने, नेपाली बक्सिङ खेलाडीलाई रसियामा हुने प्रतियोगितामा सहभागी गराउने, दुवै देशका खेलाडीलाई हिमाली क्षेत्रमा म्याराथन प्रतियोगितामा सहभागी गराउने, बक्सिङका प्रशिक्षकको अनुभव आदान-प्रदान गर्ने, मार्शल आर्ट्स खेल प्रशिक्षकको अनुभव आदानप्रदान गर्ने रहेका छन्।
यस्तै हिमाली, पहाडी खेलका प्रशिक्षकको अनुभव आदानप्रदान गर्ने, दुवै देशका खेल विश्वविद्यालयको सहयोग सम्बन्ध विस्तार गर्ने कार्यक्रमअन्तर्गत नेपाली खेलाडी विद्यार्थीलाई रसियामा खेलकुद विज्ञान अध्ययनको अवसर उपलब्ध गराउने, नेपालमा हाई अल्टिट्युड तालिम सेन्टर स्थापना गर्न थप छलफल अगाडि बढाउने र रसियन युनियन अफ मार्शल आर्ट्सका पदाधिकारीसँग भेटघाट गरी दुवै देशका मार्शल आर्ट्स खेलमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो।
विश्व बक्सिङ महासंघका अध्यक्ष उमार क्रेमलेभसँग पनि छलफल भएको थियो। नेपालमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने र बक्सिङको एकेडेमी स्थापना गर्ने कार्यमा क्रेमलेभ सकारात्मक भएको मन्त्री गहतराजको भनाइ छ।
खेलकुद मन्त्री गहतराजको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागीय प्रमुख मधुसुदन बस्नेत, मन्त्रीका निजी सचिव रोसनलाल सुनार र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले भ्रमण टोलीमा रहेका थिए।