नेपाल ओलम्पियन संघले ‘ओलम्पिक डे’का अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असार ७ गते ओलम्पियनको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो।
सन् १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट नेपालले ओलम्पिकमा उपस्थिति जनाएको थियो।
संघले सो बेला देखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो।
ओलम्पियनहरु आआफ्नो कार्यव्यस्तताका कारण सबै सधैँ एकै स्थानभेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मीयता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक बिष्टले जानकारी गराए।
बिष्टले विदेशमा रहेका ओलम्पियनलाई पनि उक्त कार्यक्रममा सहभागी गराउन इन्टरेटमार्फत समेट्ने प्रयास रहेको बताए। सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन विशेष सम्झना गर्ने अध्यक्ष बिष्टले बताए।
संघले ‘ओलम्पिक डे’का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडि सारेको छ।
जसमा २०७९ आषाढ ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तरर्गत विभिन्न स्कुलका बिद्यार्थी र ओलम्पियनबीच अन्तरक्रिया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्रय रहेको छ।