नेपालबाट १९ औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
त्यसका लागि १-१ पुरुष-महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदैछ।
पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा चुनौती प्रस्तुत गर्नेछन्।
महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन्।
प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ।
टोली प्रमुखमा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य छन्। बज्राचार्यले प्रतियोगिता दौरान हुने कांग्रेसमा पनि सहभागिता जनाउने छन्।
टिम प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य दीपकसागर सिंह महर्जन रहेका छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।