नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर ‘खेलाडी खेतमा दुई दिन’ भन्ने नाराका साथ हिले डोरी तान (टग अफ वार) प्रतियोगिताको आयोजना गरी मनाउने भएको छ।
यस्तै महासंघको बैठकले काठमाडौं मेट्रो स्पोर्टस फेस्टिभलअन्तर्गत आयोजना हुन बाँकी खेलकुद कार्यक्रमहरु आगामी असार ११ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।
असार १० गतेसम्म महासंघ आवद्ध सबै खेलसंघहरुको बैठक बसी देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्यालेन्डर बनाउने पनि महासंघको निर्णय छ।
साउन २८ र २९ गते महाधिवेशन आयोजक कमिटीको पूर्ण बैठक बसी राष्ट्रिय महाधिवेशनको मिति, स्थान तथा जिम्मेवारी तोक्ने पनि महासंघले जनाएको छ।
देशका केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी खेलका गतिविधिहरु सञ्चालन गर्नका लागि महासंघका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख दिपेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय खेलकुद प्रतियोगिता विशेष उपसमिति गठन गरेको भएको छ। उक्त समितिको सदस्यहरुमा नन्दा बस्याल, प्रनिर अधिकारी, कपिल न्यौपाने, उमेश केसी, डिबि रानापाल, रुपेश अधिकारी, कृष्ण सिग्देल, कमल किशोर चौधरी र प्रकाश कुमार चन्द रहेका छन्।
महासंघले मंसिर १४ गते महासंघ स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्सव आयोजना गर्ने भएको छ।
विभिन्न सांस्कृतिक चाडपर्वहरुलाई मध्यनजर गर्दै स्थानीय स्तरमा खेलकुदलाई पर्वसँग जोड्दै खेलकुदलाई जनताको मनमनमा पुर्याउने उद्देश्यले ‘जनजनमा खेलकुद मनमनमा खेलकुद’ भन्ने मुल नाराका साथ खेलकुद मार्फत स्वस्थ अभियानको गर्ने महासंघले निर्णय गरेको छ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेटमा खेलकुद क्षेत्रमा बिनियोजित बजेट अघिल्लो आर्थिक वर्षको कम रकम विनियोजन गरेर सरकार खेलाडी र खेलक्षेत्रको विकासको पक्षमा नभएको पुष्टि भएको महासंघको आरोप छ। साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति घोषणा भइसकेको अवस्थामा बजेटको आकार घट्नुले राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा महासंघले शंका व्यक्त गरेको छ।
महासंघको केन्द्रिय कार्यालय त्रिपुरेश्वरबाट काठमाडौं महानगरपालिका वडा नं १० स्थित पुरानो बानेश्वर हाइटमा सारिएको छ। उक्त नवनिर्मित कार्यालयको जेठ ३० गतेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं खेलकुद महासंघ इन्चार्ज गोकुल बास्कोटाले उद्घाटन गरेका थिए।
महासंघले पछिल्लो ४ महिना गरेका विभिन्न राजनितिक, सांगठनिक एवं आर्थिक गतिविधिलाई समेटेर संयोजक कृष्ण बस्नेतले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरि सर्वसम्मतिले पारित गरेको छ।
बैठकमा महासंघका सबै प्रदेशका इन्चार्ज एवं विभागीय प्रमुखहरुले आ–आफ्नो प्रदेश तथा विभागका कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।