आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे। आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेश्रो भए।
पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात पारे। फाइनलमा उनले चाँदनीका आशिष माझीलाई हराए। नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेश्रो भए।
महिला ३१ केजीमुनि चन्द्रागिरीकी सेली गुरुङले फाइनलमा बाँकेकी रितु राजकोटीलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन्।
आयोजककी रितिका थापा र एसकेबीसीकी याङजुम शेर्पाले तेश्रो स्थानमा चित्त बुझाए। महिला ३७ केजीमुनि बाँकेकी अनु थापा पहिलो भइन्। अनुले स्वर्ण भिडन्तमा नेवारेकी आशा शाहीलाई पन्छाइन्। एसकेबीसीकी देबुना केसी र राष्ट्रिय विभूतिकी सन्जु सापकोटा तेश्रो बने।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले निर्णायक नोर्बु लामालाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा विभिन्न २२ जिल्लाका करिब ६ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्। ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
काठमाडौं महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। ग्योरोगी र पुम्सेका उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ।
राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण
नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन्। निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन्।
उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते। सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो तथा राम गोले र लक्ष्मण गोले तेश्रो भए। चारै प्रहरीका हुन्।
नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्षको पुरुष एकलमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मुलपानीका आयुश ढुंगेलले कांस्य हात पारे। सो स्पर्धाको महिलामा आर्मीकी पुर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमशः शीर्ष तीन स्थान हात पारे।
पुरुष एकलको १२–१५ वर्ष उमेरसमूहमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कांस्य हात पारे। सो स्पर्धाको महिलामा गोदावरीकी सर्गम थापा पहिलो, स्वयंभूका तारा वाइबा दोश्रो तथा स्वयंभूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ तेश्रो स्थानमा रहे।
पुरुष एकलको १०–१२ वर्षमा गोदवारीका निरब महर्जन पहिलो, स्टेपिङ स्टोनका अद्रिश रायन दोश्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेश्रो बने। त्यसै स्पर्धाको महिलामा न्युजेनकी श्रृष्टि स्याङबो प्रथम, झापाकी खुशी गौतम द्वितीय तथा जैशीदेवलकी मुबिक्क्ष्या गजुरेल र आर्मीकी कुसुम तामाङ तृतीय भए।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। विभिन्न १४ विधामा प्रतिस्पर्धा भइरहेको छ। यसै प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने भएको छ। प्रतियोगिता आइतबार सम्पन्न हुने छ।