नेपाली पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सोमबार रजत पदक जितेकी छन्।
इरानको तेहरानमा भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जनाले नेपाललाई रजत पदक दिलाएको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।
प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो ।
नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वाटरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी थिइन्।
सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० ले हराउदै आयोजक राष्ट्रकै फतेमेह दोदान्घेसंग फाइनल भेट पक्का गरेकी थिइन् । फाइनलमा सिर्जना ३३–११ ले चुकिन्।
सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गरेकी सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत नै जितेकी थिइन्।
अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाको यो प्रशिक्षकका रुपमा पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता हो। ५ मध्ये ४ मा नेपाल पदक जित्न सफल भएको छ।
टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेपनि चुकेको थियो। यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पनि पलेशाको प्रशिक्षक लामा नै थिए।