आङ छिरिङ शेर्पाको स्मृतिमा ‘आङ छिरिङ शेर्पा मेमोरियल गल्फ टुर्नामेन्ट’ हुने भएको छ ।
यती एअरलाइन्सको आयोजनामा शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसमा मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो।
शेर्पाको तेस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
“पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” प्रवक्ता बर्तौैलाले भने।
गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो। प्रत्येक बर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यस अघि नै यती एअरलाइन्सले घोषणा गरिसकेको छ।
उक्त प्रतियोगितामा रजिस्ट्रेशन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ।
प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु ३ लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ। अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन्। सम्पूर्ण विधामा गरी करिव १३ लाख मुल्य बराबरको पुरस्कार वितरण हुनेछ।