बागमति प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्ण हात पारेका छन्।
उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन्।
१३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए। तेश्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे।
बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपी तर्फ पनि ओमकारले स्वर्ण हात पारे।
उनले निकैनै प्रतिस्पर्धात्मक खेलमा सेनाका जंग गिरीलाई १०–९ अंकले पराजित गरेका हुन्।
निर्धारित समय सम्म दुवैको समान ९–९ अंक भए पछि निर्णयका लागि थप गरिएको १ मिनटमा सिंहले अंक जोड्दै १०–९ अंकका साथ बिजय भएका हुन् । सेनका मिन कार्की र बागमतीका भिष्मराज (तार्जन) दाहालले कास्य पाए।
यस्तै पुरुषकै फ्वाईल तर्फ सेनाका जलेन्द्र शाहीले बाजी मारे । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेश्रो हुँदै कास्यमा सिमित भए।