बागमति प्रदेशकी शिक्षा नापितले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण हात पार्न सफल भएकी हुन्।
नापितले फाईनलमा एपिएफकी उर्मिला लामालाई १५ – ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन्। एपिएफकी शुक घिसिङ्ग र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए।
यस्तै आजै भएको महिला ईपी तर्फको खेलमा सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतान विच भएको फाईनल प्रतिस्पर्धामा सिताले बाजी मारिन्। सिताले १५ – १२ अकंका साथ स्वर्ण कब्जा गरिन् । तेश्रो स्थानमा एपिएफकी अनिता कार्की र नेपाली सेनाकी ईन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे।
बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ।
प्रतियोगिताको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं बीर गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकास मान सिंहले पादनसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए। प्रतियोगिताको उद्घाटन गर्दै सिंहले बीर गणेशमान सिंहको साहस, त्याग, तपश्या र अनुशासनलाई जनमानसमा ताजा गराई रहन साहस र अनुशासनको पर्याय खेलकुद पनि एक माध्यम रहेको बताए।
कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्याती राणा, चतुरानन्द राज बैद्य, अशोक रत्न बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ र दीपक हर्ष बज्राचार्य लगायतको उपस्थिती रहेको थियो।