लिनिङ्ग ११औं पुष्पलाल स्मृती र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाइनल समिकरण पूरा भएको छ। पुरुष एकलको क्वाटरफाइनलमा समूह एबाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर र धातुका सुदीप सेढाइ, तथा समूह डी बाट रिभाइभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले स्थान बनाएका छन्।
आज भएको लिगको अन्तिम खेलको समूह ए मा प्रफुल महर्जनले बाँकेका इरफान अन्सारीलाइ २१–१७, २१–६ ले पराजित गरे। उनलसे समग्रमा २ जित १ हारका साथ समूहमा उपबिजेता बन्दै क्वाटरमा स्थान बनाए। अव क्वाटरफाइनलमा प्रफुलले समूह सीका बिजेता बिजित थापा मगरसंगको प्रतिस्पर्धा पक्का गरे। दोश्रो खेलमा दिपेश धामीले पुलिसका सुनिल जोशी माथि जित निकाले। उनले जोशीलाइ २१–१२, २१–१४ पराजित गरे। दिपेश तीनै खेलमा जित निकाल्दै समूहमा पहिलो हुँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भए। अव क्वाटरमा दिपेशले समूह सीका उपबिजेता सुदीप सेढाइ संग प्रतिस्पर्धा गर्ने छन्।
समूह बीको खेलमा सेनाका नविन श्रेष्ठले एपिएफका देवराज रानालाइ २१–९, २१–११ ले पराजित गरे। उनले समूहमा सवै जित निकाल्दै बिजेतको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्। अव नविनले क्वाटरमा समूह डीका उपबिजेता सेनाका रुकेश महर्जन संग प्रतिस्पर्धा गर्नेछन्। समूह सीको अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका साजन कृष्ण ताम्राकारलाइ २०–२२, २१–८, २१–१३ ले पराजित गरे। आचार्य २ जित र एक हारका साथ समूह उपबिजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरे। अव उनको प्रतिस्पर्धा समूह डीका बिजेता प्रिन्स दाहाल संग हुने छ।
समूह सीको खेलमा पुलिसका दीपक बोहराले एपिएफका बिजित थापा मगरलाइ २४–२२, २१–१५ ले पराजित गरे। यस्तै धातुका सुदीप सेढाइले बाँकेका बिलाल वारिसलाइ २१–६, २१–७ ले पराजित गरे। यस समूहमा बिजित, सुदीप र दीपकले प्रत्येकले २ जित १ हार बेहोरे। अंकका आधारमा बिजित समूह बिजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरे। सुदीप र दीपकको अंक पनि बराबर रहेता पनि हेड टु हेडका आधारमा सुदीप सेढाइले क्वाटरफाइनलमा स्थान बनाए।
समूह डीको अन्तिम लिग खेलमा रिभाइभका प्रिन्स दाहालले सेनाका रुकेश महर्जनलाइ २१–१२, २१–८ पराजित गर्दै आफ्ना तीनै खेलमा जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटरमा स्थान पक्का गरे। आजको खेलमा पराजित भएता पनि रुकेश २ जितका साथ उपबिजेतका रुपमा क्वाटरफाइनल प्रवेश गरे। अर्को खेलमा एपिएफका निरञ्जन देवकोटाले पुलिसक बिष्णु कटुवाललाइ २१–१०, २१–१७ ले पराजित गरे। आज जित हात पारेता पनि निरञ्जनले १ जित मात्रका कारण क्वाटरफाइनलमा स्थान बनाउन असफल भए। बिष्णुले भने सवै खेल गुमाए।
महिला एकल तर्फ क्वाटरफाइनमा नम्बर एक खेलाडी भोजपुरकी नङ्गशल तामाङ्गले १० औं संस्करणकी बिजेता एपिएफकी जेशिका गुरुङ्ग संग प्रतिस्पर्धा गर्ने भएकी छिन्। यस्तै सेनाकी अनुमाया राइले सेनाकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्ने छिन्। राष्ट्रिय च्याम्पियन तथा बिश्व जुनियर युगल बरियतामा ७ औं स्थानमा रहेकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियाको सामना गर्ने छिन्। अर्को प्रतिस्पर्धामा सेनाकी अमिता गिरीले पुलिसकी निता लम्सालको सामना गर्नेछिन्।